Logo

तपाईँको प्रदेशको राजधानी कहाँ, कुन सहरको कति सम्भावना ?



काठमाडौं ६ पुस ।
अस्थायी प्रादेशिक राजधानी घोषणामा भएको ढिलाईले जिल्ला जिल्लामा राजधानी ल्याउने रस्साकस्सी सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको नतिजा आइसक्दा पनि सरकारको तर्फबाट अस्थायी प्रादेशिक राजधानी नतोकिँदा जिल्लास्तरमा तनाव सुरु भएको छ ।

चुनावी माहोल सकिएपछि अहिले प्रादेशिक राजधानीको बहानामा नागरिक विभाजित हुन थालेका छन् । एउटै जिल्लाका फरक फरक सहरमा राजधानी तान्ने होडबाजीले चक्का जाम र बन्द हड्ताल जस्ता अप्रिय गतिविधि पनि सुरु भएका छन् ।

आफ्नै सहरलाई राजधानी बनाउने मोहले राजधानीको लागि ‘लबिङ’ र दबाब दिने काम पनि तीब्र भइरहेको छ । राजधानीका नाममा दबाबमुलुक आन्दोलनदेखि बन्द हडतालसम्म हुँदा नागरिकले सास्ती पाउन थालेका छन् ।

चारवटा प्रदेशमा राजधानीका लागि बखेडा

विशेष गरी प्रदेश नम्बर १, २, ३, ५ र ७ मा प्रादेशिक राजधानीका लागि बखेडा सुरु भएको छ । प्रदेश नम्बर ४ र ६ मा भने खासै विवाद देखिएको छैन । प्रदेश नम्बर ४ को पोखरा र प्रदेश ६ को सुर्खेतलाई प्रादेशिक राजधानी बनाउन ती प्रदेश करिब सहमति नजिक छन् । प्रदेश ६ का लागि जुम्लाको चर्चा चलेपनि सुर्खेतका पक्षमा जनमत करिब जुटेको अवस्था छ ।

प्रदेश १ मा चार सहरको तानातान

प्रदेश १ को प्रादेशिक राजधानीका लागि धनकुटा, सुनसरीका धरान र इटहरी तथा मोरङको विराटनगरबीच तानातान सुरु भएको छ । यी सबै सहरबासी अहिले दबाबमुलुक कार्यक्रमसहित सडकमा छन् । राजधानीका लागि फूलको गुच्छा दिएर स्वागत गर्नेदेखि काठमाडौंमा जुलुस निकाल्नसम्म भ्याएका छन् यी सहरबासीले ।

साविक पूर्वाञ्चलको क्षेत्रीय सदरमुकाम धनकुटा भएकाले राजधानी पनि आफूले पाउनु पर्ने जिकिर त्यहाँका बासिन्दाको छ । धनकुटाबासीले जिल्ला बन्ददेखि काठमाडौंमा दबाबमुलक र्या‍ली समेत गरिसकेका छन् । दबाब ¥यालीमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित राजेन्द्र राई र पराजित सुनिल कुमार थापा सहभागी भए ।

पूर्वाधार जुटाइसक्यो धरानले

धरानले प्रादेशिक राजधानीका लागि पूर्वाधार समेत तयार पारिसकेको छ । धरान उपमहानगरपालिकाले विभिन्न १३ स्थानका सरकारी तथा सामुदायिक भवनहरुमा मुख्यमन्त्रीको कार्यालयदेखि निवास र अन्य मन्त्रालय तथा प्रदेश प्रमुखको कार्यालय समेत खोजिसकेको छ ।

धरानले मुख्यमन्त्रीको कार्यालयका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पुर्नस्थापना केन्द्र, प्रदेशसभाको सचिवालय र प्रदेशसभा हल धरान सभागृह, प्रदेशसभाको सभामुख र उपसभामुखको कार्यालय बीपी प्रतिष्ठान हाताभित्रको निर्वाणा कन्ट्री क्लब (सबैको निवास सहित) र प्रदेश प्रमुखको कार्यालय आन्तरिक राजस्व कार्यालयमा राख्न सकिने जनाउ सरकारलाई दिइसकेको छ ।

इटहरी पनि उपयुक्त

‘भूगोलको हिसाबले इटहरी सबैतिरको केन्द्र’ पर्ने भएकाले राजधानी बनाउन सम्भाव्यता अध्ययनका लागि गठित समितिले त्यही सहरलाई उयुक्त ठहर्याएको छ । इटहरीबासीले रचनात्मक ढंगबाट राजधानी मागिरहेका छन् । उनीहरुले राजधानी जाने यात्रु र सवारी चालकलाई फूलको गुच्छा दिएर प्रादेशिक राजधानी मागेका छन् ।

राजधानी माग्दै ठाउँ ठाउँमा बन्द र हड्ताल भइरहेका बेलामा इटहरीबासीले नयाँ ढंगबाट दबाब दिएका हुन् । पूर्वको आर्थिक तथा व्यापारी नगरी विराटनगरमा समेत राजधानीका लागि दबाबमुलक कार्यक्रम भइरहेका छन् । मोरङबाट निर्वाचित कांग्रेस नेता मिरेन्द्र रिजाल, एमाले नेता लालबाबु पण्डित र माओवादी नेता अगमलाल मोदी विराटनगरलाई प्रादेशिक राजधानी बनाउने लविङमा छन् ।

प्रदेश २ः वीरगन्ज र जनकपुरको ‘लडाइँ’

वीरगन्ज र जनकपुरमा प्रदेश २ को राजधानीको लागि लविङ भइरहेको छ । राजधानी माग्दै मंगलबार पनि वीरगन्जमा प्रदर्शन भएको छ । सरकारले ऐतिहासिक नगरी जनकपुरलाई प्रादेशिक राजधानी बनाउने तयारी गरेको चर्चा चलेपछि देशकै आर्थिक राजधानी वीरगन्जमा खैलाबैला सुरु भएको छ ।

बारा, पर्सा र रौटहटबाट प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरु वीरगन्जलाई प्रादेशिक राजधानी बनाउने जोडबल गर्न थालेका छन् । प्रदेश २ का मुख्यमन्त्रीका दाबेदार रहेका संघीय समाजवादीका नेता लालबाबु राउत र राष्ट्रिय जनता पार्टीका नेता जितेन्द्र सोनल वीगन्जकै पक्षमा देखिएका छन् ।

प्रदेश ३ मा पनि तानातान

प्रदेश नम्बर ३ को राजधानीका लागि काभ्रेको धुलिखेल, भक्तपुर, ललितपुर र मकवानपुरको हेटौँडाबीच रस्साकस्सी भइरहेको छ । प्रादेशिक राजधानीका लागि काभ्रेको बनेपा, धुनिखेल र हेडौँडामा दबाबमुलक कार्यक्रममा भइरहेका छन् । भक्तपुर र ललितपुर पनि राजधानीका लागि तातेका छन् ।

प्रदेश ५ : दाङ र बुटवलको होडबाजी

प्रदेश नम्बर ५ को राजधानीका लागि दाङ र बुटवलका तथा नेपालगन्ज र कपिलवस्तु समेत जुर्मुराएका छन् । उपप्रधानमन्त्री कृष्णबहादुर महरा र एमाले स्थायी समिति सदस्य शंकर पोखरेल दाङलाई प्रादेशीक राजधानी बनाउने पक्षमा छन् ।

उपप्रधानमन्त्री महराले बाँके पुगेर दाङ नै प्रादेशिक राजधानी हुने बताएका छन् । अर्कातिर एमाले उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, कांग्रेस नेता बालकृष्ण खाँड र राप्रपा नेता दिपक बोहरा बुटवललाई प्रादेशिक राजधानी बनाउने लविङमा छन् ।

पश्चिमको ऐतिहासिक र पुरानो सहर नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउन त्यहाँका बासिन्दा समेत तातेका छन् । कोहलपुर नगरविकास समितिले २ सय विगाहा जग्गासमेत दिने घोषणा गरेको छ । माआवादी केन्द्रका नेता चक्रपाणि खनाल‘बलदेव’, कांग्रेस नेता दीपकुमार उपाध्यय, सांसद बृजेशकुमार गुप्ता लगायतका नेताहरु कपिलबस्तुलाई राजधानी बनाउने लविङमा छन् ।

प्रदेश ७ : पहाड र तराईको जुहारी

प्रदेश नम्बर ७ मा राजधानी पहाड र तराई कहाँ राख्ने भन्ने विवाद छ । कैलालीको धनगढी, अत्तरिया र डोटीमा प्रादेशिक राजधानी हुनुपर्ने भन्दै त्यहाँका बासिन्दा जुर्मुराएका छन् । क्षेत्री सदरमुकाम समेत रहेको डोटीको दिपायललाई प्रादेशिक राजधानी बनाउन संघर्ष समिति नै गठन भएको छ ।

साविक सुदुरपश्चिमको सदरमुकाम दिपायललाई नै सदरमुकाम बनाउने दबाब पहाडी जिल्लाले गरिरहेका छन् । उता तराईमा धनगढी र अत्तरियाका बासिन्दाले दबाबमुलुक कार्यक्रम गरिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा, बैतडीको पाटनमा समेत राजधानीका लागि लविङ सुरु भएको छ । पहाडमै राजधानी हुनुपर्नेमा बैतडी, दार्चुला, डोटी, बझाङ, अछाम र बजुराबासी एकमत छन् ।

यस्तो छ संवैधानिक व्यवस्था

संविधानको धारा २८८ को उपधारा २ मा ‘प्रादेशिक राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुईतिहाइ बहुमतबाट निर्णय भए बमोजिम हुने’ व्यवस्था छ । उपधारा ३ मा सरकारले अस्थायी राजधानी तोक्न पाउने व्यवस्था पनि गरिएको छ ।
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्