Logo

एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक शुक्रवार बस्दै



६ पुस, काठमाण्ठौ । वाम गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक शुक्रवार बस्ने भएको छ ।

निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेपनि अनेक चर्चा र हल्ला चल्न थालेपछि समितिको बैठक बसेर एकता प्रक्रियालाई गति दिन लागिएको हो ।
दुई वाम दलका शीर्ष नेता सम्मिलित सो समितिले निकट भविष्यमा पार्टी एकता गर्ने विषयमा ठोस योजना अघि सार्ने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

उनले मतदाता र कार्यकर्ताबाट समेत पार्टी एकताको विषय अनुमोदन भइसकेकाले आफूहरुलाई थप अघि बढ्न कुनै समस्या नभएको स्पष्ट पारे । समितिमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेता छन् ।

एमाले र केन्द्रबीच गत असोज १७ मा चुनावी तालमेल र पार्टी एकताको सहमति सार्वजनिक भएको थियो । दुवै पार्टीका नेताहरुले नयाँ सरकार गठन र एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्