Logo

नेपाली कांग्रेसको समस्या भनेको नेपाली कांग्रेस नै हो, पार्टीलाई अब वैज्ञानिक ढंगले संचालन गर्नुपर्छ : दीपकुमार उपाध्याय



चुनाव जितेर जनप्रतिनिधी बन्ने सपना देखेका नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायको सपना पूरा भएन । उपाध्याय भारतका लागि नेपालका राजदुत हुँदा हुँदै राजिनामा दिएर आएका हुन् । उनै उपाध्यायसँग पत्रकार ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पछिल्लो राजनीतिक घटनाक्रमलाई जोडेर लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेपाली कांग्रेसले चुनाव हार्यो । तर अहिलेसम्म किन केन्द्रिय समितिको बैठक बस्न सकेन ?
चुनाव जितेका साथीहरु आफ्नै कार्यक्रममा हुनुहुन्छ । पराजित साथीहरु पनि आफ्नै किसिमको कार्यक्रममा व्यस्त हुनुहुन्छ । अब बैठक बस्नुपर्छ । बस्छ ।

कांग्रेसले किन हार स्विकार्न सकेको छैन ?
वाम गठबन्धनले विजय प्राप्त गरेको छ । त्यो कुरालाई स्विकान नगर्ने भन्ने कुरा त छदै छैन ।

अहिलेसम्म कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले माओवादीलाई बधाई र शुभकामना दिन सक्नुभएको छैन । किन ?
निर्वाचनमा केही तिक्तताहरु हुन्छन् । त्यसलाई नेताहरु सहज रुपमा लिनुपर्छ । एक हातले ताली बजाएर हुँदैन । यस्ता किसिमक कुराहरुलाई तत्काल संयोजन गर्नुपर्छ । सबै नेताहरुले आफ्नो तहबाट सकारात्मक सोच बनाउनुपर्छ । सबै नमिलेसम्म देशको समस्याको समाधान हुँदैन ।

तपाईहरु त केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिने रणनीतिमा हुनुहुन्छ रे ?
त्यस्तो होइन । घाम जत्तिकै छर्लङ्ग छ कि जनताको अभिमतलाई नेपाली कांग्रेसले स्विकार गरेको छ ।

नेपाली कांग्रेसले चुनाव हार्यो । तर किन सरकार छोड्न चाहेन । किन ?
कांग्रेस सरकार छोड्न तयार छ । तर सत्ता हस्तान्तरणका लागि सहज बाटो खोजिएको हो । राष्ट्रियसभाको निर्वाचनलाई लिएर अड्किएको हो । यसलाई सहज रुपमा फुकाउनुपर्छ । समावेशीकताका लागि एकल संक्रमणीय मत प्रणाली आवश्यक छ । यस विषयमा निकास निकास निकाल्नका लागि सबै तयार हुनुपर्छ । समावेशी सिद्धान्तका लागि एकल संक्रमणीय मत प्रणाली आवश्यक छ भन्ने कुरा सबैले स्विकार गर्नुपर्छ ।

एकल संक्रमणीय मतका आधारमा राष्ट्रिय सभा गठन गर्नुपर्छ भन्ने आधार के छ ?
संविधानको मर्मअनुसार एकल संक्रमणीय मत नै आवश्यक छ । संविधानमा स्पष्ट रुपमा नलेखिए पनि आशय स्पष्ट छ । स्पिरिट चाँही समावेशिता हो कि होइन भन्ने कुरा त स्पष्ट छ नि । प्राविधिक त्रुटीहरु छन् भन्दैमा त्यसमा अड्किरहने हो भने त समाधान हुँदैन नि । समावेशी सिद्धान्तलाई मान्ने हो भने एकल संक्रमणीय मतमा विवाद गर्नु जरुरी छैन । आपसमा समझदारी गर्नु आवश्यक छ ।

कांग्रेसभित्र युवा पुस्ताहरु जुर्मुराएका छन् । देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज उठेको छ । यसमा तपाईको विचार के छ ?
कांग्रेसको नेतृत्वले अहिलेसम्म महत्वपूर्ण काम गरेको छ । माओवादीलाई शान्ती प्रक्रियामा ल्याउनेदेखि संविधान बनाएर कार्यान्वयनको बाटोमा लैजाने काम त कांग्रेसको नेतृत्वले नै गरेको हो नि । चुनाव सम्पन्न गराउनु त कांग्रेस नेतृत्वको सफलता हो नि ।

तर पार्टीको पराजयको जिम्मेवारी पनि नेतृत्वले लिनु पर्दैन ?
यति धेरै सफलताका चरणहरु पार गर्दा पनि कांग्रेस पहिलो ठूलो दलबाट दोस्रोमा झर्यो । यि कुराहरुलाई समष्टीमा राखेर युवा पुस्ताका साथीहरुले पनि धैर्यताका साथ विश्लेषण गर्नुपर्छ । यद्यपी पार्टीलाई अब वैज्ञानिक ढंगले संचालन गर्नुपर्छ । केन्द्रिय समितिको बैठक बसेपछि सबै समस्याको निरुपण हुन्छ ।

नेतृत्वले नैतिकता देखाउनुपर्दैन ?
सबैको आफ्नो आफ्नो तर्क हो । मार्ग प्रशस्त गरेर अर्को बाटो बनाउँ भन्ने एउटा तर्क हो । तर वैधानिक बाटोबाट नै सुरक्षित अवतरण गराउनुपर्छ । यि कुराहरु छलफलका विषय हुन सक्छन् । नेपाली कांग्रेसको समस्या भनेको नेपाली कांग्रेस नै हो ।

कांग्रेसभित्रबाट नै अन्तरघात भएर चुनाव हार्नुपरेको हो ?
व्यवस्थापन गर्दा गर्दै पनि भित्रभित्रै आगो सल्किरहेको हुन्छ । कांग्रेसलाई सबैभन्दा ठूलो चुनौति कांग्रेसभित्रैबाट छ । अब वैज्ञानिक ढंगबाट समस्या समाधान गर्नुपर्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हुनेवाला प्रधानमन्त्री भनेर चर्चा गरिएको केपी ओलीलाई बधाई दिदै भारत भ्रमणको निम्तोसमेत दिनुभयो । ओली प्रधानमन्त्री भएपछि भारतसँगको सम्बन्धन कस्तो होला ?
भारतसँगको सम्बन्ध सुमधुर बनाउनुपर्छ । मोदीले पनि कुटनीतिक शिष्टाचार र मर्यादा निर्वाह गर्नुभएको हो । हामीले पनि भूगोल बदल्न सक्दैनौँ भन्ने कुरा भुल्नुहुँदैन । आथिृक समृद्धि र वैदेशिक लगानीका लागि सहज वातावरण बनाउने गरी नेपाल सरकार अघि बढ्नुपर्छ । सन्तुलित परराष्ट्र नीति हामीले अवलम्बन गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्