Logo

अबको प्रधानमन्त्री केपी ओली, तर अध्यक्ष को हुन्छ ? भन्ने अहिले टुँगो लागेको छैन : प्रदिप ज्ञवाली, सचिव-नेकपा एमाले



नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अबको सरकारको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गर्ने पक्कापक्की भएपनि एकीकृत पार्टीको अध्यक्ष को बन्ने भन्नेबारे कुनै टुँगो नलागेको बताए । उनले पार्टी एकताबारे गृहकार्य सुरु भैसकेको बताउँदै छिट्टै यसले सार्थकता पाउने विश्वास दिलाए । जनताको चाहना नै एकता भएकोले सोही अनुसार आफूहरु अघि बढ्ने पनि उनको भनाई थियो । पार्टी एकता, सरकार गठन र समसामयिक राजनीतिक विषयमा नेपाली रेडियो नेकटवर्कका लागि पत्रकार ऋषि धमलाले सचिव ज्ञवालीसँग गरेको कुराकानीको सम्पादित अंश :

स्थायी कमिटि बैठकले के निर्णय गर्यो ?

निर्वाचन सम्पन्न भएकोमो खुशीयाली व्यक्त गरियो । वाम गठबन्धनलाई भारी बहुमत दिने आम मतदाताहरुलाई धन्यवाद ज्ञापन गरियो । निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोग, सरकार, सुरक्षा निकाय लगायत सबैलाई धन्यवाद दिँदै मुलुक अब समृद्धि र स्थायित्वको दिशामा अगाडि बढ्यो र संक्रमणकाल टुँग्गियो भन्ने निश्कर्ष निकालेको छ । यो बीचमा जति पनि उतार चढाव थिए, विकृति थिए अब त्यो समस्या समाधानको दिशामा अब मुलुक अगाडि बढ्यो ।

दोस्रो, निर्वाचन सम्पन्न भएको लामै समय भएको छ । तर, वर्तमान सरकारले विभिन्न बहाना गरेर खासगरी राष्ट्रिय सभासम्बन्धी अध्यादेशमा एक खालको अग्र्याल्याँई झिकेर सहज सत्ता हस्तान्तरणमा असहजता उत्पन्न गरिरहेको स्थिति देखिन्छ । त्यसो गर्नु अनुचित हुन्छ । जनताको जनादेशको भावना विपरित हुन्छ । यसर्थ नयाँ सरकार गठनमा मार्गप्रशस्त गर्न ध्यानाकार्षण पनि गराएको छ ।

उसो भए एमाले र माओवादी केन्द्रवीचको एकताको लागि बैठकमा मापदण्ड बनेन ?

किन नबन्नु नि । छिट्टै एकता हुन्छ । एकताको लागि सघन रुपमा गृहकार्य अघि बढ्छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त आलोपालो प्रधानमन्त्री भनेर भन्नुभएको छ नि, यसमा सत्यता छ ?

उहाँले के भन्नुभयो त्यसमा मैले फष्टह्याण्ड केही बुझेको छैन । जनताको अहिलेको जनादेश भनेको मुलुकको राजनीतिक स्थायित्वको निम्ति दिगो सरकार हो । स्थायित्व सुनिश्चित हुनेगरि हामी अगाडि बढ्छौं । दुई वटा पार्टी एकता हुँदाखेरि दुवैको आत्मसम्मान, प्रतिष्ठा र भूमिकालाई कदर गर्ने काम त हुन्छ नै । तर एकता भनेको आलोपालो गरेर प्रधानमन्त्री खान वा बन्नको निम्ति भन्दा पनि देशलाई सही निकास दिनको निम्ति हो । त्यसो भएको हुनाले त्यही हिसाबले नै हामी अघि बढ्छौं ।

तर पदीय बाँडफाँड त गर्नुपर्ला नि ?

त्यो त अवश्य हुन्छ नि । तर नेताहरुको वीचमा पदीय व्यवस्थापन वा बाँडफाँड गर्ने भन्दापनि ठूलो कुरा देशको व्यवस्थापन हो नि । देशमा सुशासन कायम गर्ने कुरा चाहीँ प्रमुख कुरा हो । यसलाई केन्द्रविन्दुमा राखेका छौं । त्यसो गर्दा कुन नेतालाई कुन जिम्मेवारी दिँदा उहाँले सबैभन्दा प्रभावकारी भूमिका खेल्नुहुन्छ त्यसमा हामी त्यही ढंगले सोच्छौैं ।

अबको प्रधानमन्त्री केपी ओली बन्ने त निश्चित भयो तर पार्टी अध्यक्ष चाहीँ को त ?

अवश्य पनि अबको प्रधानमन्त्री को भन्नेमा कुनै शंकै छैन । तर पार्टी अध्यक्ष को बन्ने भन्नेबारे अहिले किन हतारिनु छ र ? अध्यक्ष को बन्छ भन्नेबारे गृहकार्य भैरहेको छ । अहिले नै भन्ने बेला भएको छैन ।

उसो भए एकतापछिको पार्टीको अध्यक्ष कसलाई बनाउने भन्नेबारे तपाईहरु निर्णयमा पुग्नुभएको छैन ?

हामी गृहकार्यमा जुटेका छौं । गृहकार्य सम्पन्न हुँदै जाँदा हामी उपर्युक्त ढंगले निर्णय लिन्छौं । सबै नेताको योग्यता, क्षमतालाई अधिकतम सदुपयोग गर्नेगरि नै हामी व्यवस्थापन गर्छौं ।

वाम गठबन्धनमा कुनै दरार पैदा हुँदैन ?

आउँदैन । कुनै पनि समस्या आउँदैन् । जनताले नै गठबन्धनलाई अनुमोदन गरिसकेका छन् । अब त पार्टी एकता त केबल केपी ओली र प्रचण्डको मात्रै एजेण्डा रहेन, बरु यो त आम नेपालीहरुको एजेण्डा बन्यो । हामीलाई भोट दिने ५० लाख जनताले अनुमोदन गरेको एजेण्डा हो । यसमा दरार आउने कुनै संभावना छैन । झनै सुदृढ भएर जान्छ ।

सरकार गठन गर्न कति समय लाग्छ ?

हामीले आशा गरेका छौं आउने आईतबारसम्म निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्छ । त्यो सार्वजनिक हुनेवित्तिकै सरकार गठनको बाटो खुल्छ । प्रतिनिधि सभाले पूर्णता पाउने वित्तिकै बहुमत प्राप्त दलको नेता चाहीँ प्रधानमन्त्री बन्ने अहिलेको हाम्रो संविधानमा व्यवस्था छ ।

तर प्रधानमन्त्री देउवाले त राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म म राजिनामा दिन्न भन्नुभएको छ नि ?

त्यो उहाँको अनावश्यक जिद्दि हो । गैर संवैधानिक जिद्दि हो । राष्ट्रिय सभाको गठन र नयाँ सरकार यी दुवै नितान्त भीन्न भीन्न विषय हुन् । यीनीहरुवीच आपसमा अन्तरसम्बन्ध नै छैन । किनभने सरकार गठनमा राष्ट्रिय सभाको कुनै भूमिका नै हुँदैन । संसदको अरु काम कानून निर्माण लगायतमा भूमिका हुने भएपनि सरकार गठनमा राष्ट्रिय सभाको कुनै भूमिका हुँदैन् । त्यसो भएको हुनाले राष्ट्रिय सभा गठन नभएसम्म सरकार छोड्दिन भन्नु गलत हो ।

तर संघीय संसद त सँगै बोलाउनुपर्छ नि ? होईन र ?

त्यस्तो हुँदैन । तपाईले विगतमा हेर्नुभयो होला नेपालले दुई सदनात्मक संसदको अभ्यास पहिलोपटक गरेको होईन नि त। संघीय संसद बन्नको लागि राष्ट्रिय सभा अनिवार्य हुन्छ ।

तर अध्यादेश त राष्ट्रपतिकहाँ छ, उहाँले स्विकृत नै गर्नुभएको छैन ?

यो अध्यादेश हरेक हिसावले गलत छ ।

कसरी गलत छ ? प्रधानमन्त्रीले बुझाएको अध्यादेश होईन र ?

प्रधानमन्त्रीले दिएको सबै कुरा राम्रो हुन्छ र ? उहाँले त संविधान अनुसार काम गर्नुपर्यो नि । संविधान बनाउँदै गर्दा हामीले लामो समयसम्म यसबारेमा छलफल गरेकै हो। एकल संक्रमणीय मतको आधारमा त्यही भएर संविधानमा उल्लेख नै नगरेको हो । कांग्रेसले खेलको नियम सुरु भैसकेपछि अचानक खेलको नियम परिवर्तन गर्यो । वाम गठबन्धन बनिसकेपछि हामी क्लिनस्फि हुन्छौ कि भन्ने देखेर एकल संक्रमणीय मतको आधारमा भनेर लेख्यो । यो अध्यादेश असंवैधानिक छ ।

भारतीय प्रधानमन्त्री मोदी र एमाले अध्यक्षवीच के कुराकानी भएछ ?

उहाँले तीनै तहको निर्वाचन सम्पन्न गरेकोमा नेपाली जनतालाई बधाई दिनुभयो । यो निर्वाचनमा वाम गठबन्धनले प्राप्त गरेको सफलतामा पनि केपी शर्मा ओलीलाई बधाई दिनुभयो । र, नयाँ सरकारसँग सहकार्य गर्न आफू एकदमै आँतुर रहेको र नयाँ प्रधानमन्त्रीको रुपमा ओलीलाई भारत भ्रमणको निम्तो र स्वागत गर्न ईच्छुक रहेको उहाँले बताउनुभयो । र अब नेपालले स्थायित्व र विकास गर्छ भन्ने कुरामा आफू विश्वस्त रहेको मोदीले बताउनुभयो । प्रतिउत्तरमा हाम्रो अध्यक्षले बधाई दिएकोमो धन्यवाद दिँदै आफ्नो सम्पूर्ण ध्यान चाहीँ समृद्धि र सुशासन रहेको बताउनुभयो । ओलीले पनि मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्