Logo

एमाले र माओवादीले प्रधानमन्त्री को बन्ने भन्ने कुरा त संसदलाई जिम्मा दिनुपर्छ : लिलामणि पोखरेल



नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच पार्टी एकताको विषयमा विवाद बढेको हो ?
छैन । विवाद छैन । कुरा मिल्छ ।

कसरी मिल्छ ?
अहिले कुरा मिल्ने कुरा कहाँ अड्कियो भन्दा राष्ट्रियसभाको निर्वाचनको विधेयक अड्किएर बसेको कारणले सरकार बनाउन ढिला भयो ।

भागबण्डामा कुरा मिल्न सकेको छैन । एकता भएपछि पार्टी अध्यक्ष को बन्छ ?
पार्टी अध्यक्षको निम्ति धेरै ठूलो समस्या छैन । पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्ता पदको विषय ठूलो राजनीतिक समस्या होइन । समझदारीको रुपमा अगाडि बढ्छ ।

आलोपालो गर्ने कुरा आएको छ नि ?
दुईवटा पार्टीको बिचमा को अध्यक्ष बन्ने भन्ने कुरा राजनीतिक सहमतिको आधारमा हुन्छ । सहमति नभए त टुटिहाल्छ नि । त्यसैले पार्टी एकतालाई सहज पाटोबाट हेर्नुपर्छ ।

प्रधानमन्त्री को बन्छ त ?
प्रधानमन्त्री को बन्ने भन्ने कुरा त संसदलाई जिम्मा दिनुपर्छ । संसदीय दलको नेता को चुनिन्छ, त्यसको आधारमा प्रधानमन्त्री चयन हुन्छ ।

कहिलेसम्ममा नयाँ प्रधानमन्त्री चुनिनुहुन्छ ?
यो त निर्वाचन विधिका बारेमा विवाद छ । राष्ट्रियसभा गठनका विषयमा विवाद भइरहेको छ । एकल संक्रमणीय विधिबाट राष्ट्रियसभा गठन गर्दा कांग्रेसले बढि प्रतिनिधित्व गराउन पाउँछ । बहमतीयबाट गर्ने हो भने कांग्रेसको प्रतिनिधित्व नहुन पनि सक्छ । त्यसैले एकल संक्रमणीय विधि नै अभ्यास गर्नुपर्छ भनेर कांग्रेसले अडान लिएको छ । समावेशीका लागि एकल संक्रमणीय विधि आवश्यक त छ । तर पहिला बहुमतिय प्रणाली स्विकार गरेको कांग्रेसले स्थानीय तहमा कमजोर नतिजा ल्याएपछि परिवर्तन गरेर एकल संक्रमणीय विधि राख्न खोज्नु गलत हो ।

यो समस्याको गाँठो फुक्छ त ?
संसारमा जुनसुकै समस्याको पनि गाँठो फुक्छ । हामीकहाँ पनि राजनीतिक विश्वासको जरुरी छ । राष्टपतिले पनि दलीय सहमति भएपछि राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गर्छु भन्नुभएको छ ।

(नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग भएको कुराकानीको सम्पादित अंश)



प्रतिक्रिया दिनुहोस्