नेविसंघ विवाद समाधान गर्न सभापति देउवासँग माग


काठमाडौँ, ९ पुस : नेपाल विद्यार्थी संघका नेताहरुले काँग्रेस निर्माणका लागि बलियो नेविसंघको आवश्यकता रहेको भन्दै नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल विद्यार्थी संघका उपाध्यक्ष उर्मिला थपलियाको नेतृत्वमा बालुवाटार गएको टोलीले आज सभापति देउवालाई भेटेर वर्तमान नेतृत्वले विधिविधानविपरीत काम गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

नेविसंघमा विवाद रहेको ११ जिल्लाको अधिवेशन अहिलेसम्म नगरेको, निर्वाचन हारेका व्यक्तिलाई मनोनित गरेको, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा नेविसंघलाई सशक्तरुपमा परिचालन गर्न नसकेको, नेविसंघको १२औँ महाधिवेशनको तयारी नगरेको, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अरु दलका विद्यार्थीको मुद्दा बोकेको भन्दै सभापति देउवाको ध्यानाकर्षण गराएका हुन् ।

भेटपछि सभापति देउवाले वर्तमान नेतृत्वलाई बोलाएर छलफल गर्ने, चाँडो विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी नेविसंघ नेता दीपक भट्टराईले जानकारी दिनुभयो ।

उक्त टोलीले आजै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालालाई भेटेर नेविसंघभित्र देखिएको विवाद मिलाउन आग्रह गरेका थिए । उहाँहरुले एक हप्ताभित्र आफूहरुले राखेका माग पूरा नभए समानान्तर समिति गठन गर्ने बताएका छन् ।

भेटमा नेविसंघका उपाध्यक्ष सागर परियार, सहमहामन्त्री हरिहर शर्मा, पूर्वमहामन्त्री मनोजमणि आचार्य, विद्यार्थी नेता नीलकण्ठ रिजाललगायत उपत्यकाका विभिन्न क्याम्पस तथा कलेजका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहेको थियो । (रासस)

Skip This

Omoda E5 Pro