Logo

अब प्रचण्डलाई धेरै नकुर्ने, उपेन्द्रको साथ लिने कसरतमा ओली



काठमाडौं, १० पुस । निर्वाचन सम्पन्न भएको यतिका दिन वितिसक्दा पनि सरकार गठनको लागि कुनै सुरसार देखिएको छैन । निर्वाचनमा बहुमत प्राप्त गरेका वाम गठबन्धनमा आवद्ध दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच नै विवाद देखिएपछि सरकार गठनमा ढिलाई भैरहेको छ ।

स्रोतका अनुसार दुई पार्टीवीचको एकता प्रक्रियामा केही प्राविधिक समस्या देखिएकोले तत्काल सरकार गठनमा ढिलाई भैरहेको हो । सरकारको नेतृत्व र एकतापछिको पार्टीको नेतृत्व बेग्लाबेग्लै नेताले गर्नुपर्ने एकथरिको भनाई रहेको छ भने अर्कोथरि पार्टी अध्यक्ष र सरकारको नेतृत्व एउटै व्यक्तिले गर्नुपर्ने धारणा राखेकोले एकतामा समस्या उत्पन्न भएको बुझिएको छ ।

यही वीचमा एमाले नेतृत्वले माओवादी विना पनि सरकार गठनको लागि हो, वा माओवादीसहित अझै बृहत्त बहुमत कायम गर्नको लागि हो यकिन नभएपनि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग सहकार्यको प्रस्ताव राखेको छ । यो प्रस्तावसँगै नेपाली राजनीतिमा अहिले नयाँ तरंग पैदा भएको छ । कतै एमालेले माओवादी विनै सरकार गठन गर्न लागेको त होईन भन्ने तरंग पैदा भएको हो ।

हुन पति आज एमाले र फोरम नेपालका नेताहरुवीच छलफल भएको छ । फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले आफूहरूको पहिलो एजेण्डा संविधान संशोधन रहेको बताएका छन्। श्रेष्ठले आफूहरू संविधान संशोधनको एजेण्डा लिएर निर्वाचनमा गएकोले यसलाई नै प्राथमिकतामा राखेको बताए।

एमालेले नेतृत्वले सरकारमा सहभागिताबारे जिज्ञासा राखेको भएपनि यस विषयमा सामान्य छलफल मात्रै भएको उनले बताए । ‘एमालेले सरकारमा सहभागी हुने बारे हाम्रो धाराणा बुझेको थियो। जवाफमा हामीले संविधान संशोधनबारे एमालेको धाराणा माग्यौं।’ उनले भने, ‘प्रदेशको सीमाना हेरफेरसहितको संविधान संशोधन नभएसम्म फोरम सरकारमा सहभागी नहुने कुरा हामीले स्पष्ट पारेका छौ।’

एमाले माओवादी गठबन्धनलाई सरकारको नेतृत्व गर्ने जनमत आएकोले उनीहरूले नै सरकार बनाउनु उचित हुने उनले बताए।‘एमाले–माओवादीले बहुमतको सरकारका लागि मत मागेका हुन् । हामीले संविधान संशोधनका लागि मत मागेका हौं’ उनले भने, ‘गठबन्धन र हाम्रो जनमत नै फरक उद्धेश्यका लागि आएकोले हाम्रा एजेण्डामा पनि भिन्नता छ।’

उनका अनुसार एमालेले फोरमलाई समृद्धि भएपछि असमानता आफैँ हट्छ भन्दै सम्झाएको थियो । तर, आफ्नो पार्टी भने अधिकार स्थापित गराउने अभियानमा रहेको जवाफ एमालेलाई दिएको श्रेष्ठले बताए । एमालेले सरकारमा सहभागी हुनेबारे फोरमको धारणा मागेको भएपनि यस विषयमा गम्भीर छलफल भने नभएको उनले बताए।

माओवादीले प्रधानमन्त्री ओली बन्ने भएपछि अध्यक्ष आफ्नो पार्टीको नेतृत्वलाई छोड्नुपर्ने अडान लिएको छ । यदि त्यसो हुन सकेन भने सरकार र पार्टी दुवैमा आलोपालो नेतृत्व हुनुपर्ने लाईन समेत माओवादीका नेताहरुले सार्वजनिक गर्न थालेका छन् । तर एमाले भने सजिलै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष स्विकार गर्ने मनस्थितिमा पुगेको छैन । उसले राजपा र फोरमसँग मिलेर भएपनि सरकार निर्माणमा अघि बढ्ने आन्तरिक तयारी थालेको छ ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने,‘सरकारमा हाम्रो सहभागिता होस् भन्ने विषयमा एमाले अध्यक्ष ओलीजीले आग्रह गर्नुभएको हो, तर हामीले सरकारमा जानेबारे सोच बनाईसकेका छैनौं, हाम्रो प्रमुख एजेण्डा भनेको संविधान संशोधन हो, यदि संशोधनबारे एमालेको धारणा सार्वजनिक भयो भने हामी सोच्न सक्छौं, तर अहिले यसबारेमा कुनै ठोस निर्णय भएको छैन ।’
अहिलेको निर्वाचनको परिणाम अनुसार कुनैपनि दलको बहुमत छैन ।



प्रतिक्रिया दिनुहोस्