Logo

क्रिश्चियन धर्मगुरू पोपद्वारा जेरुसेलममा शान्ति कायम गर्न आग्रह



भेटिकन सिटी, ११ पुस  : ईसाइहरूको महान् पर्व क्रिशमसका अबसरमा धर्मगुरू पोप फ्रान्सिसले भेटिकन सिटीमा जम्मा भएका दशौँ हजार क्रिश्चियन धर्माबलम्बीलाई सम्बोधन गर्दै जेरूसेलम तथा सम्पूर्ण धार्मिक महत्वका भूमिहरूमा शान्ति कायम गर्न आग्रह गर्नुभएको छ ।

आप्रवासीहरुप्रतिको सम्मान ईसाइ धर्मको एक महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै उनले जिसस क्राईस्टको जन्म हुँदा जोसेफ र मेरीले बेथलेहममा बस्नका लागि तबेलाबाहेक अन्य ठाउँ नभेटेको भन्दै ईसाइहरुको धार्मिक ग्रन्थ बाईबलको कथासँग आप्रवासीहरुको अवस्थालाई जोडेर वर्णन गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले मध्यपूर्वमा इजरायल र प्यालेष्टिनीबीचको तनाव चर्किँदा यहाँका बालबालिकामा जिससको उपस्थिति देखेका छौँ । द्वन्द्वका कारण बालबालिकाको भबिष्यमा कुनै दाग लाग्नु हुनेछैन ।” धर्मगरूले विश्वभर छरिएर बसोबास गर्दै आएका एक अर्ब ३ करोड क्याथोलिक धर्माबलम्वीलाई आप्रबासी शरणार्थीको पीडामा वेवास्था नगर्न आग्रह गर्नुभयो ।

उहाँले जेरुसेलमको शान्तिका लागि सम्वद्ध पक्षबीच वार्ता र सम्वाद शुरू हुनेमा विश्वास व्यक्त गर्नुभयो । धर्मगुरू पोपले केही समय पहिले म्यानमारमा जारी सैन्य हिंसाबाट बच्न भागेका रोहिंज्या मुसलमानहरुको बिषयमा सम्बन्धित देशको भ्रमण गरी समाधानका उपाय खोज्न त्यहाँका प्रशासनसँग आग्रह गर्नुभएको थियो ।

गत महिना पोपले म्यानमारको भ्रमण गर्नुभएको थियो र छिमेकी देश बङ्गलादेशमा आश्रय लिइरहेका रोहिंज्या मुसलमान शरणार्थीहरुसँग पनि उहाँले पछि भेट गर्नुभएको थियो । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्