Logo

रुसी विपक्षी नेताद्वारा निर्वाचान बहिस्कारको अपिल



मस्को, ११ पुस  : रुसका विपक्षी नेता एलेक्से नभाल्नीले रुसमा आगामी वर्ष हुन लागेको राष्ट्रपतीय निर्वाचनमा सहभागी नहुन र मतदान बहिस्कार गर्न रुसी जनतासमक्ष अपिल गर्नुभएको छ ।

यहाँको निर्वाचन आयोगले उहाँलाई राष्ट्रपतिमा उठ्न वञ्चित गरेको छ । आफूलाई भ्लादिमिर पुटिनका विरुद्धमा उक्त चुनावमा उठ्न वञ्चित गरेपछि उहाँले अरुलाई पनि निर्वाचन बहिष्कार गर्न आह्वान गर्नुभएको हो ।

उहाँले प्रमुख विपक्षी विनाको चुनावको वैधानिकता पनि नहुने बताउनुभएको छ । त्यसैले उहाँले मतदाताहरुलाई पनि सो अवैध निर्वाचनको विरोध जनाउन आह्वान पनि गर्नुभएको छ ।

रुसको निर्वाचन आयोगले नभाल्नीलाई फौजदारी अभियोगमा दोषी ठहराइएको भन्दै राष्ट्रपतिको उम्मेदवार बन्न पनि अयोग्य ठहराएको जानकारी हालैमात्र दिएको थियो ।

रुसमा पुनः यहाँका राष्ट्रपति भ्लादिमिर पुटिन राष्ट्रपतीय निर्वाचनमा उठ्न लाग्नुभएको छ । उहाँ यस पटक चौथो कार्यकालका लागि राष्ट्रपतिमा उठ्न लाग्नुभएको छ ।

नभाल्नि ४१ वर्षको मात्र हुनुहुन्छ । उहाँलाई राष्ट्रपति भ्लादिमिर पुटिनको एक बलियो चुनौतीका रुपमा हेरिएको थियो । पुटिनलाई चुनौती दिनसक्ने एकमात्र उम्मेदवारका रुपमा उहाँलाई हेरिएकोमा निर्वाचन आयोगले नै अयोग्य ठहराइदिएको छ– एकजना राजनीतिक विश्लेषकले बताएका छन् ।

उहाँलाई केही समयअघि लगाइएको भ्रष्टाचारसम्बन्धी अभियोगमा दोषी ठहरिएको भनेर रुसको निर्वाचन आयोगले चुनावमा उठ्न नपाउने निर्णय दिएको थियो ।

तर त्यो आरोपको उहाँले ठाडै खण्डन गर्नुभएको छ । उहाँले निर्वाचन आयोगले आफूविरुद्ध लगाएको अभियोग राजनीतिक रुपमा प्रेरित भएको र त्यो सबै राष्ट्रपति पुटिनको निर्देशनमा भएको जानकारी दिनुभएको छ ।

निर्वाचन आयोगको यो निर्णयका विरुद्धमा रुसी नागरिकले विरोध प्रदर्शन गर्ने चतावनी पनि उहाँले दिनुभएको बताइएको छ । उहाँले यो चुनाव नभई पुटिनका पक्षधरहरुले मात्र भागलिने राजनीतिक कार्यक्रम भएको पनि आरोप लगाउनुभयो ।

पुटिनका समर्थकहरुले मनोनयन प्रक्रियाका लागि मंगलबार एकजुट हुन लागेका छन् । नभाल्नीले आफूले पनि विपक्षीका तर्फबाट सो निर्वाचनको विरोधमा प्रदर्शनको नेतृत्व गर्ने पनि उहाँले जानकारी दिनुभयो । (रासस/एएफपी)



प्रतिक्रिया दिनुहोस्