खोटाङलाई प्रदेश नम्बर १ को राजधानी तोक्न सांसदहरुको माग


काठमाडौंमा बस्ने खोटाङका युवाहरुद्धारा सांसदहरुलई बधाई
काठमाडौं, ११ पुस । खोटाङका नवनिर्वाचित सांसदहरुले प्रदेश नम्बर १ को राजधानी खोटाङलाई बनाउनुपर्ने माग गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा खोटाङमा जन्मिएर राजधानीमा पत्रकारिता गर्दै आएका यूवाहरुले नवनिर्वाचित सांसदहरुलाई बधाई आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै सांसदहरुले यस्तो बताएका हुन ।

जिल्लाको समग्र विकासमा आफूहरु केन्द्रित हुने बताउँदै उनीहरुले शिक्षा, स्वास्थ्य, खानेपानी र सडककाबारेमा जिम्मेवारपूर्वक जनताले दिएको भोटलाई कदर गर्ने बाचा समेत गरेका छन् ।

खोटाङबाट प्रतिनिधसभा सदस्यमा विजयी भएका विशाल भट्टराईले जिल्लाको शिक्षा, स्वास्थ्य, रोजगार, सडक, विद्युत तथा खानेपानिको समस्यालाई राज्यद्धारा तत्काल सम्बोधन गर्नेगरि आफूहरु लाग्ने विश्वास दिलाए ।

नेकपा एमालेका नेता समेत रहेका भट्टराईले खोटाङवासी जनताले यसपटक जिल्लामै बसेर राजनीति र जिल्लाको विकासका बारेमा लागिपरेका नेताहरुलाई जिताएको स्पष्ट पारे । सांसद भट्टराईले विगतको सरकारले खोटाङ्को लागि पक्षपातीपूर्ण व्यवहार गरेको समेत आरोप लगाए ।

उनले मध्यपहाडी लोकमार्गलाई ४ लेनमा विस्तार गरि खोटाङमा उत्पादन भएको तरकारी र अन्य बालिको निर्यात गरिने बताए ।

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले खोटाङबाट निर्वाचत सबै सांसदलाई मन्त्री बन्न शुभकामना दिए । क्लबको स्थापनादेखि नै आजसम्मको स्थितिमा मुलुकको राजनीतिक परिवर्तनमा मुख्य भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा आर्थिक समृद्धिको यात्रालाई द्रुत गतिमा अघि बढाउनको लागि क्लबको साथ र सहयोग रहने विश्वास दिलाए। 

उनले भने,‘हामीले राजतन्त्र अन्त्यको आन्दोलन गरेका थियांै, त्यसपछि संविधान बनाउनको लागि भूमिका खेल्यौ, प्रदेश र केन्द्रको चुनावको बेला पूर्वमेचीदेखि पश्चिम महाकालिसम्मको यात्रामा १०५ वटा निर्वाचन क्षेत्रमा पुगेर भोट खसाल्नको लागि आह्वान गरेका थियांै, विकास र समृद्धिको अभियानमा हाम्रो साथ छ।’

कार्यक्रममा खोटाङ प्रदेश ‘क’ का सांसद राजन राईले जिल्लामा वर्तमान समयमा स्थापित सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक परिवर्तन नगरिने हो भने बन्द गर्न सुझाव दिएका छन् ।

राज्यले शिक्षाको क्षेत्रमा उल्लेख्य लगानी गरेपनि सामुदायिक शिक्षा आमुल परिवर्तन नभएको आरोप लगाए । उनले भने,‘हामीले भरखर चुनाव जितेर आएका छँै, अब हाम्रो पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य, खानेपानि, विद्युत र सडकलाई जोड्न् ह्नेछ, यसमा सबैको साथ जरुरी रहनछ।’

नेपालकै पाँचवटा धार्मीक स्थलहरुको सुचिमा खोटाङको हलेसी माताको मन्दिर परेको भन्दै अब राज्यको नजर खोटाङमा पर्ने दाबी गरे ।

त्यस्तै खोटाङ प्रदेश ‘ख’ प्रदेश सांसद रामकुमार राईले खोटाङको उत्पादन, अर्गानिक क्षेत्रको विकास, पर्यटनको विकास, धार्मिकस्थल हलेसी मन्दिर लगायतको संरचनाको उचित किसिमको विकास र संरक्षण गरिने प्रतिबद्धता जनाए ।

मुलुक समाजवादतर्फ उन्मुख भएको बताउँदै राईले प्रदेशको राजधानी, प्रदेशको नामाकरण र प्रदेश सञ्चालनसम्बन्धी कानुन नबन्नु बिडम्बना भएको गुनासो पोखे ।