Logo

प्रधानमन्त्री केपी ओली, राष्टपतिमा मेरो सम्भावना, पार्टी अध्यक्षबारे छलफल हुँदै छ : झलनाथ खनाल



एमाले र माओवादी पार्टी एकतासम्बन्धमा अहिले सबैको चासो छ । अर्कोतिर राष्टियसभा गठनसम्बन्धी अध्यादेशमा दलहरु विभाजित भएका छन् । नयाँ सरकार गठन प्रक्रिया पनि रोकिएको छ । यिनै विषयवस्तुमा केन्द्रित भएर पत्रकार ऋषि धमलाले एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग बहस गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

वाम गठबन्धनले सरकार गठन गर्ने विषयमा समस्या देखिएको हो ?
कुनै समस्या छैन । विल्कुल हामी सरकार गठन गछौँ ।

तपाईहरुले अलमल गर्नुभयो भन्ने आरोप छ नि ? प्रधानमन्त्रीकै टुङ्गो लगाउन नसक्नुभएको हो ?
हामी कुनै अलमलमा छैनौँ । निर्वाचन आयोगले कहिले परिणाम दिन्छ भनेर व्यग्र प्रतिक्षामा छौँ । जनताले दिएको दिएको म्यान्डेटअनुसार कार्यान्वयन गर्न हामी तयार छौँ ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशका बारेमा सहमति हुनै सकेन । कसरी नयाँ सरकार बन्छ ?
सहमतिका लागि हामी प्रयत्न गरिरहेका छौँ । तर सरकारले केही गरेन । सरकार कुर्सीमा बसेर निदाइरहने हो ? सहमतिका लागि सरकारले पनि पहल गर्नुपर्यो नि । मेरो गोरुको बाह्रै टक्का कसैले पनि गर्नुहुँदैन ।

सरकार बनाउने तयारीमा हुनुहुन्छ । पहल त तपाईहरुले पनि गर्नुपर्ने होइन ?
सरकार त हामी बनाउँछौँ । कसैले रोक्न सक्दैन ।

समस्या आउनसक्छ नि । कसरी मिलाउनुहुन्छ ?
समस्या त सधैँ आउँछ । त्यस्ता समस्या समाधान गर्दै यहाँसम्म आइपुगेका हौँ । अब केही समयमा नै पार्टी एकता गर्न सफल हुन्छाँै ।

पदको व्यवस्थापन गर्न नसकेका कारण विगतमा पनि समस्या आएको थियो । अहिले पनि सहमति भइसकेको छैन । केका आधारमा पार्टी एकता हुन्छ भनेर विश्वास गर्ने ?
सबै व्यवस्थापन हुन्छ । हामी पद, सिद्धान्त र देशकै व्यवस्थापन गर्ने अभियानमा छौँ । सफल हुन्छौँ ।

धेरै नेता भएका कारण पद व्यवस्थापनको कुरा समस्याको रुपमा देखिएको छ नि ?
धेरै नेता भनेको त हाम्रो सम्पत्ति हो । यसलाई हामी राम्ररी सुरक्षित गरेर लैजान्छौँ ।

एमालेभित्रै प्रधानमन्त्रीका दाबेदार धेरै छन् । तपाई पनि हो । कसरी मिल्छ कुरा ?
त्यो त पक्का हो । हामी सबका सब दाबेदार छौँ । तर छलफल गरेर एकजना टुङ्गो लगाउँछौँ ।

भन्नुस् न, प्रधानमन्त्री को बन्छ ?
सबैले अनुमान गरेका छन् । तर मैले अनुमानका भरमा के भन्नु । केहीदिन बसेर छलफल गरेर निष्कर्ष निकाल्छौँ । सबैभन्दा ठूलो दल एमाले भएकाले एमालेबाटै प्रधानमन्त्री बनाउँछौँ । व्यक्तिको चयन छलफल गरेर तय गछौँ ।

केपी ओली र झलनाथ खनालमध्ये को प्रधानमन्त्री ? बताउनुस् न ।
अब केपी कमरेडले तपाई बन्नुस् भन्नुभयो भने म रेडि छु । मैले उहाँलाई तपाई नै बन्नुपर्छ, तपाई नै पार्टी अध्यक्ष हो भनेँ भने उहाँ रेडि हुनुहुन्छ । जो बने पनि एकजना प्रधानमन्त्री बन्ने हो ।

ओली प्रधानमन्त्री बनेको खण्डमा तपाई राष्ट्रपति बन्ने हो ?
मलाई थाहा छैन । मलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने धेरै छन् । सबैलाई मेरो धन्यवाद छ ।

तपाई राष्ट्रपति नबन्ने ?
राष्ट्रपति पनि राम्रो पद हो । मुलुकको सेवाको लागि यो पद पनि उचित छ । त्यस्तो भयो भने राम्रै हुन्छ । केही फरक पर्दैन ।

प्रचण्डलाई पार्टी एकतापछिको अध्यक्ष बनाउन सकिन्छ ?
पार्टी एकीकृत भएपछि एकीकृत पार्टीका कुनै पनि नेता अध्यक्ष बन्न सक्नेछन् । को बन्ने भन्नेमा छलफल गछौँ । एकताको महाधिवेशन नहुँदासम्म संक्रमणको अवस्थामा रहन पनि सक्छौँ । संक्रमणकालका लागि कस्तो मोडल बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

संक्रमणकालका लागि कार्यकारी अध्यक्ष दुईजना बनाउन खोज्नुभएको हो ?
त्यस्तो हुँदैन । अध्यक्ष एक जना नै बनाउने हो । वैचारिक, राजनीतिक आधारमा कसलाई नेता बनाउने भन्नेमा निष्कर्ष निकाल्छौँ ।

पार्टी एकता भएपछि एउटै पार्टीमा ४ जना पूर्वप्रधानमन्त्री हुनेछन् । उचित व्यवस्थापन कसरी गर्नुहुन्छ ?
एमाले सामुहिक नेतृत्वका आधारमा चलेको पार्टी हो । एकतापछि पनि यसैलाई निरन्तरता दिन्छौँ । एकजना व्यक्तिको नेतृत्वमा पार्टी चल्दैन । पदको विषयलाई लिएर पार्टी एकता टुट्दैन । कसैले पनि एकता टुटाउन सक्दैन । पदीय कुराले तलमाथि हुन सक्दैन ।

माओवादीका नेताहरुले त प्रचण्डलाई पार्टी अध्यक्ष नबनाए एकता गर्न सकिदैन भनेका छन् नि ?
पार्टी एकता संयोजन समितिको बैठकमा दुवै दलको तर्फबाट प्रस्ताव पेश हुन्छ । उक्त प्रस्तावका आधारमा साझा प्रस्ताव तयार गरेर अगाडि बढ्छौँ ।

पार्टी एकता संयोजन समितिको बैठक किन बस्न सकेन ?
चाँडै बस्छ ।

राष्ट्रपतिले अध्यादेश रोकेर राख्न मिल्छ ?
समस्या भएपछि राष्ट्रपतिले अध्ययन गर्न त पाउनुपर्यो । रोकेर राखेको होइन । सहमतिका लागि समय दिनुभएको हो । संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक पर्छ । त्यसैका लागि राष्ट्रपतिले प्रयास गर्नुभएको हो । कांग्रेसले पनि समस्याका गाँठो फुकाएर सत्ता हस्तान्तरण गर्नुपर्छ । सहमति नै अहिलेको निकास हो ।

प्रधानमन्त्रीले पेश गरेको अध्यादेश रोकिदा देशमा अन्योल त भयो नि ?
राष्ट्रपतिले त्यसलाई रोक्नुभएको होइन । सहमति गर्नुस भनेर दलहरुलाई आग्रह गर्नुभएको हो । रोक्न त मिल्दैन नि । संविधान बमोजिम रोक्न मिल्दैन ।

एमालेले अडान छोड्यो भन्ने समाचारहरु आएका छन् । आजै अध्यादेश जारी हुने अपेक्षा गरिएको छ । खास कुरा के हो ?
अध्यादेश आफ्नो प्रक्रियाबाट अगाडि बढ्छ । कसरी मुलुकलाई अगाडि लैजाने भन्नेमा हामी गम्भीर छौँ । संविधान कार्यान्वयनको दायित्व त सबैको हो नि । तर कांग्रेसले आफ्नो दलीय स्वार्थका लागि एकल संक्रमणीय मतका आधारमा राष्ट्रिय सभा गठनको व्यवस्था गर्न खोज्नु गल्ती हो । नैतिकताको खडेरी देखाउनु हुँदैन । जनतालाई निराश बनाउनु हुँदैन ।



प्रतिक्रिया दिनुहोस्