अध्यादेश स्विकृत गरेकोमा राष्ट्रपतिलाई पूर्व अध्यक्ष रेग्मीको धन्यवाद


अग्निवांँण पाक्षिक पत्रिकाको १० औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं, १४ पुस । अग्निवाँण पाक्षिकले १० औँ वार्षिकोत्सव मनाएको छ । रिपोर्टर्स क्लब नेपालमा उक्त पत्रिकाले एक कार्यक्रमको आयोजना गरेर आफ्नो १० औँ वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमका प्रमुख अथिति एवम् पूर्व मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आवाज विहिनहरुको आवाजलाई सम्बोधन गर्न संविधानले नै अपेक्षा गरेको बताउँदै त्यस लक्ष्यतर्फ अघि बढ्न पत्रिकालाई शुभकामना दिए । त्यस्तै उनले पत्रिकाको आगामी भविष्य सुखद् रहोस् भन्ने शुभकामना दिँदै पूर्वअध्यक्ष रेग्मीले पत्रिकाका प्रकाशक रविन थपलियालाई उच्च मनोवलका साथ पत्रकारिताको माध्याममार्फत लोकतन्त्रको संस्थागत् गर्न र मुलुकको समृद्धिमा लाग्न आग्रह प्रेरणा दिए ।

पूर्व अध्यक्ष रेग्मीले वर्तमान राजनीतिक संक्रमणको अन्त्य गरी मुलुकलाई दिशाविहीन नबनाउन राजनीतिक दलहरुलाई आग्रह गर्दै राष्ट्रियसभासम्बन्धि अध्यादेश पास गरेकोमा राष्ट्रपतिलाई समेत धन्यवाद दिए् ।

त्यस्तै कार्यक्रममा रक्षामन्त्री एवम् नेपाली कांग्रेसका नेता भीमसेनादास प्रधानले पत्रिकाको प्रगती कामना गर्दै आगामी दिनहरुमा एकता, सहमति र सहकार्यको मार्गबाट मुलुकको समृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

उनले भने,‘आजमात्रै गरौ कि नगरौको बीचमा राष्ट्रपतिले अध्यादेश पारित गर्नुभएको छ, नगरी सुखै थिएन, अझै ढिला गर्नुभयो, उहाँले कानुनी जटिलतासँगै सबै कुरालाई मध्यनजर गर्दै अध्यादेश प्रमाणिकरण गर्नुभएको छ, संक्रमणको अन्त्य भएको छ, अब मुलुक समृद्धिको मुल बाटोमा हिँड्नेछ, संसद बन्ने र राष्ट्रिय सभाको गठन हुने नयाँ सरकार बन्ने बाटो खुलेको छ।’

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आगामी समयमा मुलुकको समृद्धि र विकासमा पत्रकारिता जगतको अमुल्य साथ रहने बताए ।

उनले भने,‘अग्निवाँण र प्रकाशक रविन थपलियाबीच अन्योन्याश्रित सम्बन्ध छ, हाम्रो साथ छ, रिपोर्टर्स क्लबको तर्फबाट धेरै–धेरै शुभकामना छ।’

नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले तीन तहको सरकारले पत्रकारीतालाई उचित प्रकारले सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् ।

विष्टले राजनीतिक संक्रमणको अन्त्य भएपनि पत्रकारिताको संक्रमण शुरु भएको गुनासो पोखे । उनले भने‘ठुलो र साना मिडियाहरुलाई राज्यले दिने विज्ञापन समानुपातिक हुनुपर्छ।’

त्यत्सै कार्यक्रममा पत्रिकाका प्रकाशक रविन थपलियाले सत्य तथ्य र निश्पक्षाताको पक्षमा रहेर सुचना सम्प्रेषण गर्ने कुरामा नेपाली पत्रकारिता चुकेको बताएका छन् ।

विगत १० वर्षदेखि पाक्षिक रुपमा प्रकाशित हुँदै आएको अग्निवाँणले आजसम्म कुनैपनि आरोप नखेपेको र आचारसंहिताको पूर्ण पालन गरेको उनको भनाई थियो । उनले भने,‘हामीलाई अन्य ठुला पत्रिकाहरुको बारेमा थाहा छ, उनीहरुले प्रेस काउन्सिल धाएका छन्, समाचारमा निश्पक्षता र सन्तुलता गुमाएको पाईन्छ, तर हामीले आजसम्म त्यस्तो कुनैपनि समाचार लेखेका छैनौ, जुन समाचारले समाज र मुलुकलाई असहजता निम्त्याओस्, हामी त निरन्दर खबरदारी र समाज विकासमा टेवा पुग्ने काम गर्दै आएका छौं।’

त्यस्तै उनले आगामी दिनमा समेत समाज र देश विकासमा टेवा पुग्नेगरि सशक्त पत्रकारिता गर्ने विश्वास पनि दिलाए ।

पत्रिकाको वार्षिकोत्सवको अवसरमा अमेरिकामा रहेर पत्रकारिता गरिरहेका पत्रकार किरण मरहठालाई २५ हजार नगदसहित सम्मान गरिएको छ । विश्व चर्चित फुटवलर लियोनल मेसीको अन्तरवार्ता लिने उनी दक्षिण एशियाको पहिलो पत्रकार हुन ।

त्यस्तै कार्यक्रममा व्यक्तित्वतर्फ खड्कबहादुर श्रेष्ठ र अपाङगताका क्षेत्रमा क्रियाशिल भोजराज श्रेष्ठलाई सम्मान गरिएको छ । कार्यक्रम सञ्चालन मनिता पोखरेलले गरेकी थिईन ।