Logo

निर्वाचनको समीक्षा गर्न राहुल गान्धी हिमाचल जादै



नयाँ दिल्ली, १५ पुस (रासस/एएनआई): भारतीय राष्ट्रिय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी हालै सम्पन्न विधानसभाको निर्वाचनपछि उक्त निर्वाचनबाट प्राप्त परिणामको समीक्षा गर्न शुक्रबार हिमाचल प्रदेश जाँदै हुनुहुन्छ ।

विधानसभाको हालै सम्पन्न निर्वाचनमा हिमाचल प्रदेशमा सो पार्टीले पराजय भोगेको थियो । निर्वाचनको समीक्षाको लागि उहाँ त्यहाँ पुग्न लाग्नुभएको समाचारमा बताइएको छ ।

हिमाचल प्रदेशमा विधानसभाको ६८ सिटमा काँग्रेस पार्टीले २० र भारतीय जनता पार्टी (बिजेपी)ले ४४ सिटमा विजय हासिल गरेको थियो ।

अघिल्लो कार्यकालमा भारतीय काँग्रेसले नै सरकार बनाएको सो प्रदेशमा यस पटकको चुनावमा भने काँग्रेसले पराजय भोग्नु परेको थियो ।

अध्यक्ष गान्धीले गर्नुहुने हिमाली राज्यको एक दिने यस भ्रमणका क्रममा सिम्लामा निर्वाचन खटिएका कार्यकर्ता र मतदातालाई धन्यवाद दिनुहुने कार्यक्रम रहेको बताइएको छ ।

यसअघि पनि निर्वाचनको समीक्षाकै लागि अध्यक्ष गान्धी यसै हप्ताको सुरुमा गुजरात पुग्नु भएको थियो । गुजरातमा भने यसअघिको तुलनामा विधान सभाको निर्वाचनमा काँग्रेस पार्टीले बढी स्थानमा विजय हातपार्न सफल भएको थियो ।

यद्यपी यहाँको राज्य सरकार भने भारतीय जनता पार्टी (बिजेपी)ले नै बनाएको छ । गएको २२ बर्षदेखि यो राज्यमा भारतीय जनता पार्टीले नै सरकार बनाउदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्