काठमाडौँ, १६ पुस (रासस) : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिविधान अनुसार चल्न नसक्दा भ्रातृ संस्थाहरु कमजोर हुँदै गएको बताउनुभएको छ ।
नेपाल विद्यार्थी संघ, काठमाडौँले ४१ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘बलियो काँग्रेसका लागि सशक्त नेवि संघ’ विषयक बृहत् भेलामा उहाँले पार्टी संस्थागत ढंगले चल्न नसक्दा नेवि संघ कमजोर भएको बताउनुभयो । “पार्टी संस्थागत ढंगले चल्न नसक्दा निर्वाचनमा कमजोर नतिजा आयो”– उहाँले भन्नुभयो ।
पार्टीका पूर्वमहामन्त्री पनि रहनुभएका सिंहले कुनै पनि निर्णय गर्दा पार्टीका नेताहरुको राय सुझाव नलिएका कारण पार्टी कमजोर भएको बताउनुभयो । “काँग्रेस बिरामी भएको छ, यसलाई निको पार्न राम्रो डाक्टरको आवश्यकता छ,”– उहाँले भन्नुभयो ।
नेता सिंहले पार्टी नेतृत्वले पदाधिकारी, केन्द्रीय समिति, विभागलाई दुई महिनामा पूर्णताः दिनुपर्नेमा दुई वर्षसम्म पनि गर्न नसक्नु दुःखद कुरा भएको बताउनुभयो ।
उहाँले बिपी कोइरालाले देखाएको प्रजातन्त्रको सिद्धान्तमा कम्युनिष्ट पार्टीहरू आएको भन्दै प्रजातन्त्रलाई बलियो बनाउनका लागि काँग्रेस लाग्नुपर्ने बताउनुभयो । “प्रजातन्त्रलाई बलियो बनाउन युवाको नेतृत्व आवश्यक छ”, उहाँले भन्नुभयो ।
काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले राष्ट्रियताको माया गरेर विसं २०३३ सालमा स्वदेश फर्केका नेताको पार्टीलाई राष्ट्रियताको चर्को नारा लगाएर अरु राजनीतिक दलले निर्वाचनमा हराउनु दुःखद कुरा भएको बताउनुभयो ।
उहाँले काँग्रेसले राष्ट्रियता र लोकतन्त्रबारे जनतालाई बुझाउन नसक्दा पराजय भोग्नुपरेको उल्लेख गर्नुभयो । काँग्रेसले भ्रातृ संस्थालाई उचित सम्मान गर्न नसकेको उहाँको भनाइ थियो ।
अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा काँग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब काँग्रेसभित्र पुनर्जागरणको खाँचो रहेको बताउनुभयो । उहाँले पार्टी र लोकतन्त्रलाई बलियो बनाउनका लागि आन्तरिक मेलमिलाप बलियो हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्णले वर्तमान नेतृत्वको सोच र कार्यशैलीबाट पार्टी परिवर्तन नहुने बताउनुभयो । उहाँले लोकतन्त्रको रक्षा र पार्टीलाई बलियो बनाउनका लागि पार्टीभित्र मेलमिलापको खाँचो रहेको बताउनुभयो ।
नेवि संघका नेता दीपक भट्टराईले नेतृत्वको कार्यशैलीका कारण पार्टी प्रदेशसभा र प्रतिनिधिसभामा पराजित हुन पुगेको बताउनुभयो ।
कार्यक्रममा नेवि संघ काठमाडौँका अध्यक्ष मनोज वैद्य, केन्द्रीय उपाध्यक्ष उर्मिला थपलिया, सागर परियार, नेवि संघ नेता प्रमोदहरी गुरागार्इँ, हिमालदत्त श्रेष्ठ, लीलाबल्लभ दाहाल, नीलकण्ठ रिजाल, पुनम लामा, आरसी भट्टराईलगायतले बलियो काँग्रेस निर्माणका लागि नेतृत्वमा युवाहरुको प्रतिनिधित्व आवश्यक रहेकोमा जोड दिनुभयो ।




प्रतिक्रिया