Logo

माओवादीले जनताको बहुदलीय जनवादलाई स्विकार गरेन भने पार्टी एकता हुँदैन : रघुवीर महासेठ



नेकपा एमाले र माओबीच पार्टी एकता हुन्छ ? एकता हुने आधार केके छन् ?
पार्टी एकता हुन्छ । एकताको आधार भनेको जुन प्रकारले वाम गठबन्धन भएको थियो, त्यही आधारमा एकता हुन्छ । गठबन्धनको बाटो हुँदै एकता प्रक्रिया टुङ्गिन्छ ।

पदीय भागबण्डा कसरी मिलाउनुहुन्छ ?
नेतृत्वतहदेखि तल्लो तहसम्म योग्यता र क्षमताका आधारमा पदीय भागबण्डा मिल्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डलाई बनाउने हो ?
अहिल नै कुनै निर्णय भइसकेको छैन । दुई अध्यक्षको बिचमा छलफल भइरहेको छ । संयोजन समितिभित्र पनि छलफल भइरहेको छ । कसरी व्यवस्थापन गर्ने भन्नेमा दुवै दल गम्भीर छ ।

माओवादीले त केपी ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष भनेर निर्णय गरिसक्यो नि ?
माओवादीले निर्णय गर्नु अस्वभाविक होइन । माआवादी र एमाले पार्टी एकता हुन लागेको हो । यो स्थितीमा एमाले र माओवादीको निर्णय एक ठाउँमा राखेर सहमति गछौँ ।

तर पार्टी एकताबारे जनता विश्वस्त हुन सकेका छैनन् नि ?
जनताले नै पार्टी एकताका लागि जनमत दिएका हुन् । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबिचमा करिब करिब कुरा मिलिसकेको छ ।

तर पद र शक्ति बाँडफाँटमा कुरा मिल्न सकेको छैन नि ?
एकीकरणमा पावर सेयरिङ हुँदैन । हामी सत्ता र शक्तिका लागि एकता गर्न लागेका होइनाँै । जनताको चाहनाअनुसार अगाडि बढ्न लागेको हौँ । एकताका क्रममा प्रचण्डलाई अध्यक्ष दिन पनि सकिन्छ । आवश्यकताअनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन पनि सकिन्छ । तर यो निर्णय अहिले भइसकेको छैन । जनताको म्यान्डेटअनुसार केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना पनि छ । जनताले त ओलीलाई पाँच वर्षका लागि प्रधानमन्त्री बनेको देख्न चाहेका छन् । एमाले जुनसुकै त्याग गर्न पनि सक्छ । को प्रधानमन्त्री र को अध्यक्ष भन्ने विषयमा छलफल भइरहेको छ । दुईजना नै अध्यक्ष बनेर सामुहिक रुपमा अगाडि जान पनि सक्छौँ ।

बामदेव गौतमले त प्रधानमन्त्री आलोपालो बन्ने सहमति भएको हो भन्नुभएको छ नि ?
कसरी एकता हुन्छ भन्ने कुरा अहिले नै बालेर त हुँदैन नि । हामी एउटा सिद्धान्तमा आधारित भएर एकता गछौँ ।

योगेश भट्टराईले त प्रचण्ड र ओलीले नेतृत्व छोडेर अरुलाई अघि सार्नुपर्छ भन्नुभएको छ नि ?
योगेश भट्टराई हाम्रो पार्टीको सचिव हुनुहुन्छ । अहिले चुनाव जितेर पनि आउनुहुन्छ । उहाँले यस्तो कुरा गर्नुहुन्छ भनेर म विश्वास पनि गर्दिन । यदी भन्नुभएकै हो भने गल्ती गर्नुभयो । तर त्यो कुरा उहाँको व्यक्तिगत अधिकार पनि हो । अहिले देश र जनतालाई ओली र प्रचण्डको आवश्यकता छ ।

घनश्याम भुसालले त एकताका लागि जनताको बहुदलीय जनवाद छोड्नुपर्छ भन्नुभएको छ नि ?
यो वाहियात कुरा हो । जनताको बहुदलीय जनवाद छोडेर त पार्टी एकता हुनै सक्दैन ।

जनताको बहुदलीय जनवादलाई त माओवादीले मान्दैन होला नि ?
मान्दैन भने एकता नहुन पनि सक्छ । हामी सत्ताको लागि विचार छोड्न सक्दैनाँै ।

तपाईहरुको यस्तो कुराले त एकतामा असर गर्ला नि ?
जनताले पार्टी एकताका लागि वाम गठबन्धनलाई करिब करिब दुई तिहाई बहुमत दिएको हो । जनताको बहुदलीय जनवादलाई मूल विचार मानेर जनताले विश्वास गरेका हुन् । यस्तो स्थितीमा एमालेले जनताको बहुदलीय जनवादलाई छोड्ने कुरा सोच्न पनि सक्दैन ।

माओवादीका नेताहरुले चाँही जनताको बहुदलीय जनवाद छोड्नुपर्छ, नत्र पार्टी एकता हुँदैन भनेका छन् । तपाईहरु सिद्धान्तमा झगडा गर्दा पार्टी एकता भाँडिने देखियो नि ?
कसले के भन्यो भन्ने कुरा उहाँहरुको निजी विचार हुन् । तपाई एउटा कुरा लेखेर राख्नुस्, जनताको बहुदलीय जनवादलाई छोडेर एमाले एकीकरणमा जाँदैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दलको सहमतिमा प्रदेश प्रमख तोक्ने कुरा गर्नुभएको छ । यसमा तपाईहरुको धारण के छ ?
प्रधानमन्त्री देउवा अहिले जुन बाटो हिँड्नुभएको छ, त्यो गलत हो । नगर्नुपर्ने निर्णय पनि उहाँले गर्नुभएको छ । त्यसैले उहाँले गरेको निर्णय अब बन्ने सरकारले मान्नुपर्छ भन्ने छैन । उहाँले बल मिच्याई गरेर जे पनि निर्णय गरिरहनुभएको छ । प्रदेश प्रमुखको सवालमा प्रधानमन्त्री देउवाले एमाले र माओवादीसँग कस्तो सल्लाह गरेर अघि बढ्नुहुन्छ, त्यसमा भर पर्छ । सहमतिमै भयो भने ठीकै छ । एकल निर्णय गरेर जानुभयो भने आउने सरकारले विचार गर्छ ।

(नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग गरिएको कुराकानीमा आधारित)



प्रतिक्रिया दिनुहोस्