Logo

पेट्रोलियम पदार्थको मूल्य फिर्ता हुँदैन : आयल निगमका प्रवक्ता, ५ प्रतिशत कमिशन प्रदान नगरिए आन्दोलन हुन्छ : अर्याल



काठमाडौं, २१ पुस । नेपाल आयल निगमका प्रवक्ता दिपक बरालले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नहुने स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता बरालले अन्तराष्ट्रियस्तरमै पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएको जनाउँदै पछिल्लो समयमा गरिएको मूल्यबृद्धि फिर्ता नगरिने स्पष्ट पारेका हुन् ।

उनले भने,‘विद्यार्थीहरु, उपभोक्ताहरुले मूल्यबृद्धि फिर्ता गर्नको लागि आग्रह गरिरहनुभएको छ, यो मूल्यबृद्धि हामीले गरेका होईनांै, अन्तराष्ट्रिय मापदण्डका आधारमा मूल्यबृद्धि गरिएको हो, तथापी सरकारले नेपाल आयल निगमको मासिक घाटालाई कतैबाट सन्तुलन राख्ने मार्ग देखाउँछ भने हामी मूल्यबृद्धि फिर्ता गछौँ।’

प्रवक्ता बरालले ग्याँस उद्योग व्यवसायीहरुले ५ प्रतिशत कमिशन माग गरेकोमा आपत्ति जनाउँदै सरकारी नियम कानुनको पालना गर्न आग्रह गरेका छन् । उनले अघि थपे,‘जाडो बढेका कारण ग्याँसको माग बढेको छ । प्राप्त मात्रामा ग्यास उपलब्ध हुने भएपनि विगतको नाकाबन्दी पछि एउटै भान्छामा ५/६ वटा सिलिण्डर राख्ने गरिएको छ, २ वटा राखेर ३ वटा सिलिण्डर फिर्ता गर्नुपर्छ ।’

मासिक २६ करोड निगम घाटामा गएको बताउँदै प्रवक्ता बरालले विगत २०५६ सालदेखि आजसम्म निगमका कर्मचारीले बनोस भत्ता प्राप्त नगरेको स्पष्ट पारे । उनले भने,‘जनतामा भ्रम छ, आन्दोलन गर्नेहरुले भम्र छर्नुभएको छ, निगमका कर्मचारीहरुले २०५६ सालदेखि आजसम्म बनोस भत्ता खाएका छैनन्, विगत २ आर्थीक वर्षमा निगम फाईदामा गएको थियो, फेरीपनि उही दिशामा हिँड्दैछ, आजको दिनमा प्रति सिलिण्डरमा २४० रुपैयाँ घाटामा बेचिरहेको छ ।’

सरकारले जनतालाई मार नपर्नेगरि मूल्य बढाएको उल्लेख गर्दै उलने भने,“यसलाई निगमले कायम राख्छ, तत्काल मूलय फिर्ता लिएर समस्या समाधान हुँदैन, तत्कालको लागि बैंकबाट लोन लिएर मूल्य स्थिर राख्न सकिएला फेरी पछि अन्य कोणबाट उही जनताले नै कर तिर्नुपर्ने हुन्छ ।’

त्यस्तै नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले नेपाल ग्याँसबाहेक अन्य उद्योगहरु सुरक्षाका हिसाब कमजोर रहेको भन्दै दोषी उद्योगमाथि कारबाही गरिने चेतावनी दिए ।

उनले भने,‘नेपाल ग्याँसले सिलिण्डर, डिपो, सबै किसिमका साधनहरु राम्ररी चेकजाँच गरेको भेटिएको छ, अन्य उद्योगहरुले धारोबाट पानि ल्याएर खनाएको जस्तो गरि तेल, ग्याँसको व्यस्थापन गर्ने गरिएको स्थिति छ, यस प्रकारका क्रियाकलापहरुले सुरक्षामा ठुलो शंका उत्पन्न गर्छ, नेपाल ग्याँसकै जत्तिकै विश्वसनियता कायम गर्न आग्रह गर्दछु ।’

उनले अघि थपे,‘सबै निकायले ग्याँसको बारेमा सचेतना दिनुपर्छ, मापदण्ड लागु गर्नुपर्छ, व्यवसायीहरुले उद्योग चलाउन सक्दैनौ भनिरहनुभएको छ उहाँहरुले पहिले सरकारी नियमलाई अक्षरंश पालना गर्नुपर्छ त्यसपछि मात्र कमिशनको माग गर्नु राम्रो होला ।’

साक्षात्कारमा ग्याँस विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले उद्योगीहरुका माग सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । मोरङमा जारी आन्दोलनलाई ग्याँस विक्रेता महासंघको समर्थन रहेको बताउँदै अध्यक्ष अर्यालले सबै किसिमका मापदण्डहरु पुरा गरेको र ५ प्रतिशत कमिशन नपाए आन्दोलन गर्न बाध्य हुने थप कडा चेतावनी दिए ।

उनले भने,‘कर्मचारीमात्रै पालिएर भएन, जनतापनि बाँच्नुपर्छ, कर्मचारीको तलव बृद्धि हुन्छ, जनता र उद्योगहरुको हालत उही हुन्छ, कोही खान नपाएर मर्ने कोही बढि कमाउने ? यस्तो स्थितिको अन्त्य हुनुपर्छ।’

उनले जनताले कारबाही गर्न नसक्ने एउटै शक्ति कर्मचारी भएको भन्दै कर्मचारी मोटाउने र उद्योग व्यवसायी र उपभोक्ता मारमा परेको गुनासो पोखे ।

त्यस्तै एल.पी. ग्याँस महासंघका अध्यक्ष गोकुल भण्डारीले नेपाल आयल निगमको नियमनको अभावले सुपर ग्याँस घट्ना घटेको दाबी गरेका छन् । उनले भने, ‘नेपाल आयल निगमले अनुमति दिन्छ तर पछि निरिक्षण गर्ने काम गर्दैन, कमजोरी भेटिएमा कारबाही गर्नसक्दैन, जे–जे भयो उद्योगलाई दोष दिन्छ ।’

कार्यक्रममा उपभोक्ता हित संरक्षण समितिका सचिव विष्णुप्रसाद तिमिल्सिनाले आम उपभोक्ता र व्यवसाय उपभोक्तालाई फरक फरक मूल्य निर्धारण गर्नुपर्ने माग गरेका छन् ।
उनले भने,‘जनता र व्यवसायिहरुलाई एउटै मूल्यमा ग्याँस सिलिण्डर वितरण गरिएको यो अवैज्ञानिक छ,होटेलहरुलाई अझ भ्याट छुटमा ग्याँस वितरण गरिन्छ, जनता मात्रै मारमा पर्छन।’

क्लबका सभापति ऋषि धमलाले जनताको चाहना अनुसार निर्णय गर्न आग्रह गरेका छन् । उनले सरोकारवाला सबै पक्ष एक ठाउँमा बसेर जनताको हितमा निर्णय गर्न सुझाव दिए । धमलाले भने,“यो समस्या सबैको हो, त्यसैले जनताको हितमा अब निर्णय गर्न ढिलाई गर्नुहुँदैन्।”



प्रतिक्रिया दिनुहोस्