Logo

अबको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख नियुक्ती गर्छ : मन्त्री विश्वकर्मा



“यो सरकारले अस्थायी राजधानी तोक्ने काम गर्दैन्”
काठमाडौं, २२ पुस । वाणिज्यमन्त्री मिन विश्वकर्माले अब बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख नियुक्ती गर्ने स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले यस्तो जानकारी दिएका हुन् । उनले भने,“अब बस्ने क्याविनेटमा प्रदेश प्रमुखहरुको नियुक्ती हुन्छ, हामी त्यसको लागि पूरै तयारीमा जुटिसकेका छौं, तर प्रदेशको अस्थायी तोक्ने काम हामी गर्दैनौं।”

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आगामी मन्त्रिपरिषदको बैठकमा प्रदेश प्रमुखहरुको नियुक्ती गरिए पनि अस्थायी राजधानी तोकिने काम भने नहुने जिकिर गरे ।

प्रदेशको अस्थायी राजधानी तोक्नेबारे सर्वदलीय बैठकमा सल्लाह गर्दा अन्य दलहरुले यसमा आफूहरुको चासो नभएको भन्दै उम्किने काम गरेकोले यो सरकारले मात्रै अपजस नलिने उनको भनाई थियो । “सहसचिवको नेतृत्वमा अध्ययन कार्यदल बनेको छ, अस्थायी राजधानी तोक्नेबारे सुचना चुहावट गर्दा देशभरि आन्दोलन चलिरहेको छ, एमाले, माओवादी, फोरम र राजपालाई बोलाएर सर्वदलीय बैठक बस्दा उहाँहरु पन्छिनुभयो । आन्दोलन भैरहेको बेला, निर्णय गर्न हुँदैन् भन्ने हाम्रो निश्कर्ष छ।” उनले थपे ।

संविधानतः प्रदेश सभाले नै प्रदेशको राजधानी तोक्ने उल्लेख गर्दै विश्वकर्माले भने,“सरकारले अस्थायी राजधानी तोक्ने हो, तर बहुमत कहीँ पनि छैन् । यो सरकारको कार्यकालमा अस्थायी राजधानी तोक्ने काम हुँदैन् । आपसी समझदारीका आधारमा काठमाडौंमा कहीँ कतै सपथग्रहण गर्ने र उहाँहरु आफ्नो कार्यक्षेत्र फर्कने सम्भावना हुन्छ ।”

उनले फागुण यता नयाँ सरकार गठन नै नहुने जिकिर गरे । उनले भने,“एमालेका साथीहरुले राष्ट्रिय सभाको निर्वाचनपछि सरकारमा जान्छौं भन्नुभएको छ, अब त भद्र भलादमी बन्नुहोस्, अब चुनावी भाषण नगर्नुहोस् ।”

विश्वकर्माले अहिले आफूले बोल्दै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिनुभयो भने के हुन्छ ? भन्दै प्रश्न समेत तेर्साए । उनले थपे,“सरकार हुन्छ त ? हुँदैन्, भएन भने चुनाव हुँदैन् ।”
उनले आफूहरुले सरकार छिटोभन्दा छिटो छोड्न चाहिरहेको सुनाए । यद्धपी प्रतिनिधि सभाको प्रमाणपत्र नपाईकन कसरी छोड्ने भन्दै प्रश्न समेत तेर्साए । उनले सबै दल, यसका नेताहरु र सांसदहरु जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

मन्त्री विश्वकर्माले आफूहरुको बुद्धिले बाटो खोलिदिएको तर वाम गठबन्धनका नेताहरुको बुद्धिले बाटो बन्द गरिरहेको गुनासो पोखे । वाम गठबन्धनको पक्षमा बहुमत भएकोले उनीहरु अत्तालिएको पनि उनको भनाई थियो ।

उनले भने,“वाम गठबन्धनसँग बहुमत छ, यदि उनीहरु दुवै मिले भने मात्रै बहुमत छ । एउटा पार्टीको बहुमत छैन । बजारमा हल्ला छ, दुवै जनालाई कार्यकारी चाहिएको छ । एउटा प्रधानमन्त्री, अर्को पार्टी अध्यक्ष हो । अब यसपटक एकै व्यक्ति अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेता बन्नुपर्छ भनेर एमालेभित्रका शक्तिशाली नेताहरुले भन्नुभएको छ।”

उनले अबको निकासको बाटो भनेको निर्वाचन भएर माघको मसान्तभित्रै सबै कुरा टुँगिने भएकोले फागुणको पहलिो हप्ताभित्रै नयाँ सरकार गठन हुने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्