Logo

अबको प्रमुख कार्यभार विकास र सुशासन : प्रचण्ड



बाबियाचौर, म्याग्दी, २८ पुस : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र सुशासन अबको प्रमुख कार्यभार भएको बताउनुभएको छ ।

माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै देश विकासमार्फत समृद्धि हासिल गर्ने बाटोमा अघि बढेको बताउनुभयो ।

“धेरै अप्ठ्यारा, चुनौती र दबाबको सामना गर्दै हामीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनाव सफल पा¥यौँ”, पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले भन्नुभयो, “अब देश विकास, समृद्धि र सुशासन कायम गराउने प्रमुख दायित्व पूरा गर्छौं ।”

वाम एकतालाई जनताले अनुमोदन गरिसकेकाले एमाले र माओवादीसँगै अन्य कम्युनिष्ट पार्टीलाई समेत केन्द्रीकृत गर्न पहल भइरहेको उहाँले बताउनुभयो । वाम एकताको खाका तयार पार्ने काम भइरहेको र यसले छिट्टै पूर्णता पाउने प्रचण्डको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले वाम गठबन्धनको सरकारले म्याग्दीको विकासका लागि पर्यटन, जलविद्युत्, सडक, शिक्षा, स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो । अध्यक्ष प्रचण्ड शुक्रबारदेखि बेनीमा शुरु हुन लागेको छैटौँ म्याग्दी महोत्सवको उद्घाटनका लागि बेनी आउनुभएको हो ।



प्रतिक्रिया दिनुहोस्