Logo

नेपाल टेलिभिजनले राष्ट्रियस्तरमा अग्रणी भूमिका खेल्नुपर्छ : सञ्चारमन्त्री



धुलिखेल, पुस २८ (रासस) : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सम्पूर्ण नेपाली जनताको चाहनानुरुप नेपाल टेलिभिजनले राष्ट्रियस्तरमा अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

नेपाल टेलिभिजन कर्मचारी संघले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘संघीयतामा नेपाल टेलिभिजन : चुनौती र अवसर’ विषयको दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री बस्नेतले राज्यले सञ्चालन गरेको सञ्चार संस्थानले संघीयतामा देश गइसकेको अवस्थामा थप महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “हामीसँग स्रोत, साधन र क्षमता छ, त्यसैले राज्यद्वारा सञ्चालित सञ्चारमाध्यम एक नम्बरको बनाउन सबै मिलेर लाग्नुपर्छ, त्यसका लागि अरु थप वृद्धि, विकास र वातावरण बनाउन मन्त्रालयले के भूमिका खेल्नुपर्छ, त्यो गर्न मन्त्रालय सधैँ तयार छ ।”

सो अवसरमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले संघीयतामा जानुअघि नेपाल टेलिभिजनका प्रविधि, बजेट र कर्मचारी व्यवस्थापनलगायत क्षेत्रमा स्पष्ट खाका आउनुपर्ने बताउनुभयो ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहालले संस्थानले भविष्यमा सामना गर्नुपर्ने चुनौतीलाई आत्मसात् गर्दै सामूहिकताका आधारमा क्षमता अभिवृद्धि लगायत काम अघि बढाइएको जानकारी दिनुभयो । नेपाल टेलिभजनका महाप्रबन्धक गोविन्द रोक्काले सबै प्रदेशमा नेपाल टेलिभिजनको स्थापना र यसको स्वामित्वलगायत विषयमा संस्थानले प्रारुप तयार गरिरहेको बताउनुभयो ।

संस्थानका नायब महाप्रबन्धक दीपकमणि धिताल र नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोविन्द धितालले सातै प्रदेशमा नेपाल टेलिभिजनको पहुँच र विस्तार बढाउन समयमै त्यसको तयारीमा लाग्नुपर्ने र समयसापेक्ष जनशक्तिको क्षमतामा अभिबृद्धि गराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा ‘संघीयतामा नेपाल टेलिभिजनको अवसर र चुनौती’, ‘नेतृत्व र उत्प्रेरणाः नीति तथा योजना’, ‘नेपालमा प्रविधिको परिवर्तन र सञ्चार एवं युनियनले खेल्नुपर्ने भूमिका’ विषयमा विभिन्न विज्ञद्वारा कार्यपत्र प्रस्तुतिपछि छलफल गरिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्