Logo

प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सहमति खोज्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री देउवा



धनगढी, २८ पुस (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा दलहरुबीच सहमति खोज्ने प्रयास गरिरहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भन्नुभयो, “सहमति खोज्ने प्रयास आफूले गरिरहेको छु तर सहमति जुट्ला जस्तो छैन ।”

उहाँले काठमाडौँ फर्केर आफूले यी विषयमा पुनःसहमति जुटाउन पहल गर्ने र सहमति जुट्न नसके सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने जानकारी दिनुभयो ।

प्रधानन्त्री देउवाले राष्ट्रियसभाको चुनाव गराएर मात्र सरकार छोड्नुपर्ने परिस्थितिका कारण आफ्नो नेतृत्वको सरकार छोड्नमा ढिलाइ भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “आफू जतिसक्दो चाँडो सरकार छोड्न तयार रहेको छु ।”

नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका देउवाले सरकारबाट बाहिरिएपछि काँग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । प्रधानमन्त्री देउवा, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आज कञ्चनपुरतर्फ जानुभएको छ ।



प्रतिक्रिया दिनुहोस्