Logo

एमाले र माओवादीवीच फेरि पनि ६०/४० कै भागबन्डा, प्रदेशको मुख्यमन्त्री र सभामुखको हकमा ४/२



काठमाडौँ, २८ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले राष्ट्रिय सभाको चुनावमा पनि ६० र ४० कै भागबण्डा गर्ने करिब सहमति गरेको खुलासा भएको छ ।

यस्तै गठबन्धनले प्रदेश मुख्यमन्त्री र सभामुख पदमा पनि ६० र ४० प्रतिशतका आधारमा भागबन्डाको तयारी गरेको माओवादीका एक नेताले जानकारी दिए ।
पत्रकार ऋषि धमलासँग कुरा गर्दै ती नेताले भने,“हो, हामीवीच राष्ट्रिय सभाको उम्मेदवार, प्रदेश सरकार गठनलगायत विषयमा मापदण्ड तयार गर्न बनाएको कार्यदलले विगतको सहमतिकै आधारमा छलफल अघि बढाएको छ, मोटामोटी रुपमा हालै सम्पन्न भएको निर्वाचनमा हामीले जसरी ६० र ४० को भागबण्डा गरेका थियौं, अहिले पनि त्यस्तै हुन्छ ।”

एमाले र माओवादीका नेताहरु सम्मिलित हालै बनेको कार्यदलको आज (शुक्रबार) बसेको बैठकले चारवटा आधार तयार बनाएर छलफल गर्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

उनका अनुसार प्रदेशगत रूपमा पार्टीको अवस्था, पार्टी एकताको भावना, सम्बन्धित पदका लागि आवश्यक योग्यता र समावेशी सन्तुलनलाई ख्याल गरेर उम्मेदवार तय हुनेछ ।

प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना उम्मेदवार तय गर्नुपर्नेछ । अहिले नेताहरुले भनेजस्तै भागबण्डा गर्नेगरि सहमति भयो भने एमालेको भागमा ३३ र माओवादीको भागबाट २३ जना पर्नेछन्, र सोही अनुसार उम्मेद्धवार चयन हुने बुझिएको छ ।

त्यस्तै प्रदेशको मुख्यमन्त्रीमा यो मापदण्डअनुसार एमालेको भागमा ४ र माओवादीको भागमा २ जना पर्नेछन् । यीनै विषयमा ठोस सहमति जुटाउनको लागि शीर्ष नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलमा आवद्ध नेताहरुलाई दु्रत गतिमा काम अघि बढाउनको लागि निर्देशन दिईसकेका छन् ।

एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य जाँचको लागि थाईल्याण्डको बैंककमा छन् । उनी साता दिनपछि स्वदेश फर्किने कार्यक्रम रहेको छ । ओली स्वदेश फर्किएलगत्तै पार्टी एकताले गति लिने नेताहरुले बताउँदै आएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्