Logo

प्रचण्डलाई देउवाको ठाडो प्रस्ताव : ढुक्कले ५ वर्ष देश चलाउनुहोस



काठमाडौं, २९ पुस । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनेर ढुक्कले पाँच वर्ष मुलुक चलाउनको लागि पूनः प्रस्ताव गरेका छन् ।

देउवा निकट उच्च स्रोतले दिएको जानकारी अनुसार प्रचण्डलाई उनले फोन गरेर हिजोमात्रै ढुक्कले पाँच वर्ष प्रधानमन्त्री बनेर देश चलाउनको लागि ठाडो प्रस्ताव गरेका हुन् । तर, प्रचण्डले जवाफमा आफू जनमतको विरुद्धमा जान नसक्ने बताउँदै यतिवेला सम्पूर्ण ध्यान एमाले–माओवादीवीच एकतामा खर्चिने स्पष्ट पारेका थिए ।

तर देउवाले पटक पटक प्रचण्डलाई लोभ देखाउँदै आफूले प्रधानमन्त्री बनेर धेरै चलाएको अब अब तपाई प्रधानमन्त्री बन्नुहोस् कांग्रेसले बाहिर बसेर सघाउने वचन दिएका थिए । त्यतिमात्रै नभएर देउवाले एमालेसँग पार्टी एकता भएपनि तपाई नेतृत्वमा पुग्नै सक्नुहुन्न भन्दै प्रचण्डलाई यस्तो कुरा ठोकुवा नै गरेका थिए ।

उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘पार्टी एकता भएपनि तपाई नेतृत्वमा पुग्न सक्नुहुन्न, त्यसैले ढुक्क भएर अब पाँच वर्ष देश चलाउनुहोस्, हाम्रो तपाईलाई पूर्ण साथ र सहयोग रहन्छ।’

देउवाले ७ प्रदेशमध्ये एकमा आफूहरुको सरकार बन्ने भएकोले ७ नम्बर प्रदेश छोडेर बाँकीमा पनि सरकार गठन गर्न प्रचण्डलाई आग्रह गरेका थिए । उनले भनेका थिए,‘७ नम्बर प्रदेश हामीलाई दिनुहोस्, अरु तपाईहरु चलाउनुहोस्।’

फोरम र राजपाले २ नम्बर प्रदेशमा सरकार बनाउने पक्कापक्की भएकोले बाँकीमध्ये १ र ३ नम्बर प्रदेशमा एमाले, ४, ५ र ६ नम्बर प्रदेशमा माओवादी र कांग्रेस मिल्दा बहुमत पुग्ने भएकोले तीन वटा प्रदेशमा माओवादीलाई सरकार बनाउन कांग्रेसले सहयोग गर्ने देउवाको वचन थियो ।

देउवाको भनाई बडो चाख दिएर सुनेका प्रचण्डले अन्तिममा अहिले हतार नगरौं भन्दै उनको प्रस्ताव टारेका छन् । प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘अहिले म पार्टी एकताको पक्षमा छु, फाुगण पहिलो हप्तामा नयाँ सरकार बन्ने हो, अहिले हतार गर्नुपर्दैन् ।’



प्रतिक्रिया दिनुहोस्