Logo

अस्ट्रेलियन फ्लुले बिश्व नै त्रसित ! संक्रमित स्वस्थ युवाहरुको पनि मृत्यु, के हामी तयार छौ?



आधुनिक यातायतको साधनले बिश्व अहिले एउटा सानो गाउमा परिणत भैसकेको छ। संसारको कुनै पनि भागमा कुनै प्राणघातक संक्रमण रोग देखा परे छोटो समयमा नै बिश्वको अर्को कुनामा सहजै पुगने गरेका बिगतका उदाहरणहरु प्रशस्त देख्न पाहिन्छन।

तसर्थ बिश्वको कुनै भूगोलमा देखापरेको सरुवा रोगलाई हामीले बेवास्ता गर्न मिल्दैन। सन्दर्भ अहिले बिश्वमा नै तहल्का मच्चाई रहेको फ्लु हो, जसलाई अस्ट्रेलियन फ्लु पनि भन्ने गरेका छन्। केहि समय अगाडी अस्ट्रेलियमा देखा परेको फ्लुले त्यस देशमा अस्वाभाविक रुपमा गएका बर्षहरुमा भन्दा झन्डै तीन गुणा बिरामी सिकिस्त भएको र त्यस अनुपातमा मृत्यु समेत भएको देखाएको छ। हुनत यो नाम अधिकारीक रुपमा राखी सकेको त छैन तर मानिसहरुले अहिले यसलाई अस्ट्रेलियन फ्लुको नामले पनि सम्बोधन गर्ने गरेका छन्। बैज्ञानिक रुपमा भन्नु पर्दा अस्ट्रेलियन फ्लुलाई इन्फ्लुएन्जा ए “एचथ्रीएनटु” भन्ने गरिन्छ।

संयोग पनि कस्तो भन्दा हाल नेपालको जाजरकोटमा दर्जनौ मानिसहरुलाई प्रभावित परेको भाइरल फिबर भनेर सम्बोधन गर्दै आहिरहेको रोगमा इन्फ्लुएन्जा ए “एचथ्रीएनटु” भएको सार्बजनिक भैसकेको छ यधपी यसबारेमा अरु थप नतिजाहरु आउन बाकी नै छन्। इन्फ्लुएन्जा ए “एचथ्रीएनटु” नेपालमा हरेक सिजनमा देखिदै आहिरहेको छ। केहि हप्ता अगाडी यो लेखकले यो प्रजातिको इन्फ्लुएन्जा काठमाडौँका बिरामीहरुमा पनि देखेको थियो।

यो प्रजातिलाई स्वाँईन फ्लु भनेर चिनिने एचवानएनवान भन्दा पनि कडा मानिने गर्दछ। तर काठमाडौँमा प्रशस्त औषधी पसलहरु भएकाले संक्रमित आफै औषधी किनेर घरमै बसी उपचार गर्ने भएकोले ठुलो संख्यामा अस्पतालमा गइहालेको देखिदैन तर जटिलता देखिदै गएपछि भने अस्पताल भर्ना हुने गरेका छन् जुन सानो सख्याको हुन्छन वा खासै चर्चा हुदैन र यी संक्रमितहरुलाई उपचार निमोनिया भनेर उपचार गर्ने भएकोले इन्फ्लुएन्जा हो होइन भनेर रोग निदान गर्ने प्रचलन पनि छैन, जसबाट फ्लु जटिलताको कारणले भएको मृत्युको यकिन तथ्यांक पनि रहनेनै भएन।

हाल जाजरकोटमा देखिएको इन्फ्लुएन्जाको त्यहाका स्थानीयहरुले सहज रुपमा औषधी र चिकित्सकहरुको सेवा समयमा नै नपाएकोले हाल त्यस ठाउमा महामारीको रुप लिएको हुनु पर्छ। स्मरण रहोस, काठमाडौँमा नै पनि फ्लुको कारणले हरेक सिजनमा संक्रमितहरुको मृत्यु हुने गरेकोले आगामी दिनहरुमा काठमाडौँबसीहरु ढुक्क हुने अवस्था भने देखिदैन।

अझ यदी यो अस्ट्रेलियन फ्लु रहेछ भने हाल अमेरिका लगायत विश्वमा जसरी तिब्र गतिमा फैलिरहेको र मानबिय क्षति गरिरहेको छ त्यहि अवस्था नेपालमा पनि नहोला भन्न सकिदैन। हालसम्म खासगरी बालबालिका, ६५ बर्ष माथिका जेष्ठ नागरिक र दिर्घ रोगीहरु खासगरी दमका बिरामीहरुलाई बिशेष चनाखो रहन सल्लाह दिदै आहेकोमा हालै देखिएको अस्ट्रेलियन फ्लुले स्वस्थ बयस्कहरुमा पनि मानबिय क्षति पुर्याउदै आहेकोले बयस्कहरुले पनि अब बिशेष सतर्कता अपनाउनु पर्ने देखिएको छ।

अझ चिन्ताको बिषय भनेको हाल प्रयोगमा ल्याईरहेको फ्लु बिरुद्धको खोपको प्रभाबकारिता पनि अति न्यून रहेको देखिएको छ। अस्ट्रेलियनमा दश प्रतिशत मात्र खोपको प्रभाबकारिता देखिएकोमा अमेरिकामा तीस प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको छ जुन सामान्यतय साठी प्रतिशत भन्दा माथि हुनु पर्ने थियो। हाल जाजरकोटमा देखिएको भाइरल फिबरको महामारी भोलि काठमाडौँ लगायत अरु ठाउमा पनि नदेखिएला भन्न सकिदैन।

यसमा पनि अस्ट्रेलियन फ्लु नेपालमा देखिएमा अस्ट्रेलिया वा अमेरिकामा जस्तो अवस्था नआउला भन्न सकिदैन। नेपालमा पनि फ्लुको कुन प्रजाती देखिएको छ भनेर सार्बजनिक हुनु अति आवश्यक छ जसले गर्दा यसबाट हुने जटिलताको बारेमा गम्भीर बहस गर्न सकिन्छ भने भाबी योजनामा बनाउन पनि सहज हुनेछ। हाल बिश्वमा नै तहल्का मच्चाई रहेको अस्ट्रेलियन फ्लुको नेपालमा कुनै पनि बेला प्रवेश हुन् सक्ने भएकोले ( वा प्रवेश गरिसकेको पनि हुनसक्छ) ज्वरो, खोकी, टाउको, छाती वा पेट दुख्ने भए तथा सास फेर्न गाह्रो भए हेलचेक्राई नगरौ। तुरुन्त स्वास्थकर्मीसंग सल्लाह लिऔ।

डा. शेरबहादुर पुन संयोजक, क्लिनिकल रिसर्च युनिट शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल



प्रतिक्रिया दिनुहोस्