कैलाश सिरोहियाले एउटा समाचारका लागि २ करोड मागेको सुमार्गीको आरोप (भिडियोसहित)


कैलाश सिरोहियाले मलाई ब्ल्याकमेल गरे

१ माघ, काठमाण्डौ । उद्योगी अजयराज सुमार्गीले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाले आफूमाथि ब्ल्याकमेल गरेको आरोप लगाएका छन् ।
सिरोहियाले आफ्ना संचार माध्यमहरुको दुरूपयोग गर्दै आफ्ना बारेमा झुटा समाचार प्रकाशन तथा प्रशारण गरेको आरोप सुमार्गीले लगाएका हुन् ।

सोमबार मुक्तिश्री टावरमा पत्रकार सम्मेलन गर्दै सुमार्गी भने, ’मेरो बारेमा पटक पटक सामग्री प्रकाशन–प्रसारण गर्दासमेत मसँग एक पटक पनि प्रतिक्रिया लिने चेष्टा गरिएन, जुन विषय पत्रकारिताको सामान्य सिद्धान्तविपरीत छ ।’

२०७० सालमा बेचेको जग्गा पुरानै मूल्यमा पाउनुपर्छ भन्दै सिरोहियाले पटक पटक आफूलाई दबाब दिएको सुमार्गीको दाबी थियो ।
सुमार्गीले आफूले स्वदेशमा ल्याएको वैदेशिक ऋणलाई सिरोहियाले आफ्ना संचार माध्यम दुरूपयोग गरेर अफवाह फैलाइरहेको बताए । जनतामा भ्रम छर्ने गरी सिरोहियाले काम गरिरहेको उनको आरोप छ ।

सुमार्गीले पहिल्यै आफूलाई बेचिसकेको जग्गा फिर्ता लिन सिरोहियाले ब्ल्याकमेल गरिरहेको दाबी गरेका छन् । उनले सुरुवातमा आफ्नोविरुद्धमा समाचार लेखेपछि अर्को दिन गल्ती भयो भनेको र त्यसबेला खण्डन नपठाएको समेत प्रतिक्रिया दिएका छन् ।

अजयराज सुमार्गी

कुनैबेला अफूविरुद्धको एउटा समाचार तयार गरेर २ करोड रुपैयाँ दिने भए समाचार प्रकाशन नगर्ने भनि ब्ल्याकमेल गरेको सुमार्गीले बताए । सोल्टी होटलमा रक्सी खान बोलाएर २ करोड रुपैयाँ दिने भए समाचार प्रकाशन गर्दिन भनेर फकाएको सुमार्गीको दाबी छ ।

“एनआरएनको कार्यक्रम थियो । सिरोहियाजिले मेरो हात समातेर अर्को हलमा लागनुभयो । हाइज्याक गरेको हो तिमिीलाई २ करोडमा भन्नुभयो । मैले त्यो दिन बुझ्दै बुझिन । के बुझिन भने, भोली पत्रिकामा आउँदैछ, आज दुई करोड दिन्छस् पो भनियारैछ ।” सुमार्गीले भने । “बेस्सरी रक्सी मगाउनुभयो, खानुभयो । त्यो बिल पनि मैले नै तिरेर उठेको हो ।”

त्यसबेलाको साक्षीहरु पूर्व आइजिपी उपेन्द्रकान्त अर्यालसमेत रहेको सुमार्गीले बताए ।

“त्यसबेलाका साक्षीहरु चिन्न चाहनुहुन्छ भने, आइजिपी बनिसक्नुभएको थिएन । उपेन्द्रकान्त अर्याल । अरु थुप्रै हुनुहुन्थ्यो । मेरा दाजुहरु पनि थिए । मेरा ज्वाईहरु पनि थिए । मैले ठट्टा सम्झेको थिएँ । तर होइन रैछ ।” सुमार्गीले सोल्टी होटलको २५ असोज २०७१ को त्यो साँझ सम्झँदै थपे ।

उनले कान्तिपुरले कुनै पनि व्यवसाय वा उद्योग सुरु गरेवापत ’गोल्डेन शेयर’ दिनै पर्ने बनाएको समेत बताएका छन् । ’केही काम गर्न नपर्ने तर कसैले उद्योग वा व्यवसाय सुरु गरेवापत केही प्रतिशत शेयर कैलास सिरोहियालाई भनेर गोल्डेन शेयर दिनै पर्ने’, सुमार्गीले भने ।

उनले गोल्डेन शेयरबाट आफू मात्रै पीडित नभई धेरै उद्योगी व्यवसायी पीडित भएको र त्यस्ता व्यवसायीलाई अब आफूले साथ दिने बताए । सिरोहियाको त्यस्तो कदमले विदेशबाट नेपालमा लगानी गर्न इच्छुक कम्पनीहरू निरुसात्हित हुन पुगेको सुमार्गीको भनाई छ ।

सम्पत्ति शुद्धीकरण विभागको प्रतिवेदनको हवाला दिँदै सिरोहियाले सम्प्रेषण गरेको समाचार झूठो भएको दाबी सुमार्गीको छ ।
सिरोहियाका गलत धन्दाबारे आफूसँग पर्याप्त प्रमाण भएको र ती समयसँगै सम्बन्धित निकायमा प्रस्तुत गर्न आफू तयार रहेको पनि व्यवसायी सुमार्गीले प्रस्ट पारे ।