२ माघ, काठमाण्डौ । नेकपा एमालेका नेता राजन भट्टराईले अध्यक्ष केपी शर्मा ओली उपचार गरेर फर्किएपछि माओवादीसँग पार्टी एकता गरिने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भट्टराईले एक हुने कुरामा कुनै समस्या नभएको जिकिर गरे ।
केही नीतिगत विषयहरु टुङ्ग्याउन बाँकी रहेको भन्दै उनले तत्काल टुङ्ग्याउन नसकिएका विषयलाई एकता महाधिवेशबाट छिनोफानो गरिने बताए । ओली फर्किएपछि एकता संयोजन समितिको बैठक बसेर अहिलेसम्मभएका छलफलका विषयलाई अन्तिम रुप दिइने भट्टराईको दाबी छ ।
कार्यदलले प्रतिवेदन बुझाएपछि दुवै दलका शीर्ष नेताहरुले एकताको घोषणा गर्ने भन्दै उनले नयाँ सरकार गठनअघि नै एकता हुन सक्ने बताए । यद्यपी एकता र सरकार निर्माण दुर्व आ–आफ्नै प्रक्रियामा अगाडि बढ्ने भएकाले कुन पहिला हुन्छ भनेर भन्न नसकिने बताए ।
एकताका क्रममा पदीय बाँडफाँटलाई प्रधान विषय नबनाई आगामी लक्ष्यलाई प्राथमिकता दिइने भट्टराईले बताए । “कुन नेताले के पाउने भन्ने एजेण्डाले प्राथमिकता पाउँदैन । मुलुकको व्यवस्थापन कसरी गर्ने भन्ने कुराले प्राथमिकता पाउँछ ।” उनले भने ।
सरकारले आफ्नो कार्यक्षेत्रभित्र रहेको अस्थायी राजधानी र प्रदेश प्रमुख तत्काल तोक्नुपर्छ भन्ने पक्षमा एमाले रहेको भट्टराईले बताएका छन् । सरकारले आफूले गर्नुपर्ने काममा एमालेले कुनै सल्लाह दिन नसक्ने उनले स्पष्ट पारे ।
“सरकारले सक्छ भने निर्णय गरेर अगाडि बढोस्, सक्दैन भने म्यान्डेट गुमाइसकेको सरकारले हामीलाई छोडोस् । बाँकी काम हामी गर्छौँ ।” भट्टराईले भने ।
प्रतिक्रिया