संविधान संशोधनमा जो ईमान्दार हुन्छन्, उसलाई समर्थन गर्छौं : राय


‘मुख्यमन्त्री फेसबुकमा दाबी गरेर हुने होईन’

काठमाडौं, २ माघ । राष्ट्रिय जनता पार्टी नेपालका नेता रामनरेश रायले संविधान संशोधनमा जसले लचकता अपनाउँछ त्यो पार्टी वा गठबन्धनलाई केन्द्रिय सरकार बनाउन आफूहरुको समर्थन हुने स्पष्ट पारेका छन् । उनले भने,‘संविधान संशोधनबारे हामीले उठाएका माँगहरु जसले पूरा गर्छन, त्यसलाई हामी सरकार गठनमा समर्थन गर्छौं।’

उनले यो पटक उधारोमा सम्झौता नहुने भन्दै नगद सम्झौता गरिनेमा जोड दिए ।उनले भने,‘संविधान संशोधनमा ईमानदारी भएर लाग्छौं भन्ने प्रतिबद्धता आएपछि त्यो पनि उधारो होईन, नगदमा हुनुपर्छ, त्यो भयो भने हामी जुनसुकै शक्तिलाई पनि सहयोग गर्छौं।’

रायले २ नम्बर प्रदेशमा राजपा र फोरमको बहुमत आएकोले गठबन्धनका नेताहरुवीचको आपसी समझदारीमा कसको नेतृत्वमा प्रदेश सरकार बनाउने भन्ने कुरा टुँगो लगाउने पनि बताए । उनले भने,‘समझदारी हुँदैछ, २ नम्बर प्रदेशको मुख्यमन्त्री को बन्छ भन्ने कुरा फेसबुकले निर्धारण गर्ने कुरा होईन, उपेन्द्र यादवजी र महन्थ ठाकुरवीच कुरा मिल्छ।’ आफूहरुलाई मिलेर नै सरकार बनाउनेगरि जनताले म्याण्डेट दिएकोले यसबाट कोही पनि भाग्न नमिल्ने उनको धारणा थियो । ‘अब यो जिम्मेवारीबाट भाग्ने छुट कसैलाई पनि छैन’ उनले भने,‘कुनै झगडा छैन।’

उनले आफूहरु धेरै ठक्कर र हण्डर खाएर आएकोले अब कोही पनि जनताको म्याण्डेटबाट दायाँबायाँ नहुने जिकिर गरे । उनले ओली, प्रचण्ड र देउवा सबैले आफूहरुसँग सम्झौता गरेपनि संविधान संशोधन नगरेकोमा गुनासो पोख्दै भने,‘हामीलाई सबैसँग आशा छ, तर विश्वास छैन्।’

त्यस्तै उनले आफूहरुले केन्द्रिय सरकारमा जाँदैनौं भनेर कहिल्यैपनि किरिया कसम नखाएको उल्लेख गर्दै भने,‘हामीले किरिया खाएका छैनौं नि, तर अहिले हाम्रो मुख्य ध्यान भनेको हाम्रो माँग पूरा हुनुपर्छ।’ उनले तराई मधेशमा जनता शितलहरका कारण दयनीय अवस्थामा रहेको र कतिले ज्यान गुमाईसकेको अवस्था भएपनि यो सरकारले कुनै वास्ता नगरेकोमा आक्रोश पोखे ।

‘मधेश नेपालमा पर्छ कि पर्दैन ? यदि पर्छ भने खोई सरकारका प्रतिनिधिहरु ? उनले भने,‘अहिले हामी आफ्नो क्षमता अनुसार राहत लिएर गएका छौं।’