Logo

अहिले देखिएको अवस्थाबाट आयोग चिन्तित, अविलम्ब शान्ति कायम गर्न आग्रह



काठमाडौँ, ५ माघ : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनलाई सहज, सरल र शान्तिपूर्ण रुपमा अघि बढाउन निर्वाचन आयोगले सबैको सहयोगको अपेक्षा गरेको बताउनुभएको छ ।

समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई प्रमाणपत्र प्रदान गर्दै उहाँले दाङ र डोटीलगायत स्थानमा अविलम्ब शान्ति कायम गर्न सरकार र राजनीतिक दललाई आग्रह गर्नुभयो ।

डा यादवले भन्नुभयो, “ दाङ र डोटीलगायतका स्थानमा जनताको विरोधका कार्यक्रमबाट निर्वाचनको व्यवस्थापनप्रति हामी गम्भीर भएका छौँ, सरकारबाट मतदाता, उम्मेदवार र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको प्रत्याभूति होस्, निर्वाचन प्रक्रियामा अहिले देखिएको अवस्थाबाट आयोग चिन्तित र गम्भीर भएको छ ।”

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उच्च अदालत भएको ठाउँलाई आधार बनाएर निर्वाचन केन्द्र तोकिएको जानकारी उहाँले दिनुभयो । राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते हुँदैछ । उक्त निर्वाचनका लागि आयोगले मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लामा मतदान केन्द्र तथा ती जिल्लाका जिल्ला न्यायाधीशलाई आयोगले मतदान अधिकृत तोकेको छ ।

आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले मतदाताले उत्साहका साथ दिएको मतको गरिमालाई बुझेर मुलुकको विकास र समृद्धिको पक्षमा काम गर्न नवनिर्वाचित प्रदेशसभा सदस्यलाई सुझाव दिनुभयो ।

देश र जनताको हितमा काम गर्छाैं : ज्येष्ठ सदस्य

प्रदेशसभा सदस्यमा निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्य बलदेश शर्मा पोखरेलले रासससँग कुरा गर्दै राजनीतिमा आफ्नो ६० वर्षको अनुभवका आधारमा देश र जनताको हितका खातिर काम गर्ने अठोट व्यक्त गर्नुभयो ।

सबैभन्दा कान्छी सदस्य सिर्जना सैंजूले एकाधिकार पूँजीवादको विरोध र निःशुल्क शिक्षा पक्षका विषयमा निरन्तर आवाज उठाइने बताउनुभयो । उक्त समारोहमा १६७ सदस्यले आआफ्नो प्रमाणपत्र लिनुभएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्