Logo

केन्द्रिय समितिको बैठक बिट मार्दै देउवाले भने,‘के मलाई भित्तैमा पुर्याउन खोजेको हो त ? धेरै भाषणवाजी नगर्नुहोस्



काठमाडौं, ६ माघ । नेपाली काँग्रेसको दुई दिनसम्म बसेको वैठक ३ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ।राष्ट्रिय सभाको चुनावका बिषयमा केन्द्रित रहने बताइएको बैठक चुनाव पछि पहिलो पटक बसेका कारण चुनावको सामान्य समिक्षामा पनि केन्द्रित रह्यो।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले बैठकलाई बिट मार्दै आफूमाथि खनिएका नेताहरुलाई कडा जवाफ दिएको खुलासा भएको छ । स्रोतका अनुसार उनले नाम नै लिएर युवा नेता गगन कुमार थापालाई नेतृत्वको विरुद्धमा बाहिर जथाभावी बोल्नुभन्दापनि पार्टीको पद्धती अनुसार कुरा राख्न सुझाएका थिए ।

बैठकमा सहभागी नेताहरुका अनुसार निकै चर्काचर्कीसम्म भएको उक्त वैठकमा पार्टी नेतृत्वको खुलेरै आलोचना समेत भएको थियो । यति हुँदाहुँदै पनि पार्टीले चुनावको समिक्षा गरेर एक महिनाभित्र केन्द्रीय समितिमा पठाउन मातहतका सबै निकायहरुलाई निर्देशन दिने निर्णय गरेको छ।

सभापति देउवाले पार्टीले हालै व्यहोरेको हारको बारेमा आफूलाई मात्रै एकतर्फी रुपमा दोषारोपण गर्नुभन्दा विगत फर्किएर हेर्न आग्रह गरेका थिए । उनले आफूले निर्वाचन हुनुभन्दा धेरै अगाडि नै माओवादीसँग ६० र ४० गरौं भन्दा नमान्ने तपाईहरु नै हो भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल र गगन थापाको नाम नै उच्चारण गरेका थिए ।

त्यतिमा मात्रै देउवा रोकिएनन। उनको भनाई उद्धृत गर्दै एक नेताले भने,‘लौ, माओवादीसँग त चुनावमा सहकार्य भएन भएन, तर मधेशवादी दलहरुसँग मिलेर जाऔं भन्दापनि हुँदैन भनेर चिच्याउने र मेरो प्रस्ताव रिजेक्ट गर्ने तपाईहरु नै हो, अहिले आएर ठूला ठूला कुरा गर्ने, सडकमा गएर चिच्याउने यो के ताल हो ?’
देउवाले नेता पौडेल र गगनलाई ईंगित गर्दै भने,‘टिकट तपाईहरुले लिनुभयो, तपाईहरुले नै टिकट दिएका साथीहरुले चुनाव हार्नुभयो ? संसदीय दलभित्र सहमतिमै बसेर टिकट वितरण गरेको होईन ? अहिले आएर दोष सभापतिलाई मात्रै थोपर्न खोज्नु राम्रो होईन।’

उनले अघि भनेका थिए,‘युवा साथीहरुलाई भन्न चाहन्छु, जहाँ पायो त्यहीँ गएर भाषणवाजी नगर्नुहोस्, म महासमिति बोलाउन पनि तयार छु, तर तपाईहरु हस्तक्षेप गर्छु भनेर नखोक्नुहोस, म विधिबाट आएको हुँ, निर्वाचित भएर आएको हुँ ।’

वैठक राष्ट्रिय सभाको चुनावको बिषयमा केन्द्रित हुने भनिएपनि त्यसबारेमा भने खासै चर्चा नभएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । राष्ट्रिय सभाको निर्वाचनमा काँग्रेसले सिमित पदमा आफ्नो प्रतिनिधि पठाउन सक्छ । नेतृत्वको आलोचनामा बढी समय खर्चिएका नेताहरुले मापदण्ड बनाउने भन्दा पनि यस्ता व्यक्तिलाई उम्मेद्वार बनाउने भन्ने विचार मात्र राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्