Logo

देउवाको सक्रियता बढ्यो, राष्ट्रियसभा निर्वाचनबारे राजपा र फोरमसँग छलफल



काठमाडौँ, ६ माघ । आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा सहकार्य गर्नेबारे प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले दलीय छलफल शुरु गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज वाम गठबन्धनबाहेकका संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायत दलसँग काँग्रेसले छलफल गरेको हो ।

चुनावी तालमेलबारे प्रारम्भिक छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको समाजवादी फोरमका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

“राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्नेबारे काँग्रेससँग प्रारम्भिक छलफल मात्र शुरु भएको छ, आ–आफ्नो पार्टीमा आन्तरिक गृहकार्य गरेर पुनः बैठक बस्ने समझदारी बनेको छ”, उहाँले भन्नुभयो ।

यसअघि शुक्रबार सम्पन्न काँग्रेस केन्द्रीय समिति बैठकमा पनि राष्ट्रियसभामा बढी सिट हासिल गर्न वामबाहेकका दलसँग चुनावी सहकार्य गर्नेबारे अधिकांश नेताले कुरा उठाएका थिए । सोहीअनुरुप काँग्रेसले आजबाट दलीय परामर्श शुरु गरेको जनाएको छ ।

बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा भने सहभागी हुनुभएको थिएन । सबै दलका दोस्रो दर्जाका नेताबीच छलफल भएको हो । (रासस) 



प्रतिक्रिया दिनुहोस्