Logo

दोस्रो कार्यकालका लागि प्रचण्ड फकाउँदै विद्यादेवी, ओली फकाउँदै नन्दबहादुर



७ माघ, काठमाण्डौ । संघीय संसदले पूर्णता पाएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन हुन्छ । संविधानतः राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यावधि संघीय संसद र प्रदेशसभाका सांसदले मतदान गर्ने निर्वाचक मण्डलबाट नयाँ राष्ट्रपति उपराष्ट्रपति चयन गरेपछि स्वतः अन्त्य हुने छ ।

नयाँ संविधानले राष्ट्रपति र उपराष्ट्रपति दुवैलाई फेरी नयाँ व्यवस्थाअनुसार चुनिएर आउन रोक नलगाएपछि अहिलेका राष्ट्रपति भण्डारी आफूलाई पूनः दोहोर्याउनको लागि लागिपरेकी छिन् । वाम गठबन्धनका शीर्ष नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहना पनि विद्यालाई नै दोहोर्याउने रहेको छ ।

अध्यक्ष ओली नजिकका नेताहरू भित्री रुपमा भण्डारीलाई नै दोहोर्याउनुपर्नेमा बढी नै सक्रिय भएका छन् । अध्यक्ष ओलीले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्याउने मनसाय व्यक्त गरेपछि माओवादी अध्यक्ष प्रचण्डले त्यसको विरोध गरेका छैनन् ।

भण्डारीले ओलीको समर्थन पाइसकेकाले प्रचण्डलाई फकाउने प्रयास गरेको चर्चा चलिरहेको छ । अघिल्लो हप्ता प्रचण्डलाई शितल निवासमा परिवपारसहित बोलाएर भण्डारीले खाना खुवाउनुलाई पनि फकाउने प्रयासका रुपमा हेरिएको थियो ।

एमालेभित्रै आकांक्षी देखिएका नेता झलनाथ खनालपनि आन्तरिक रुपमा राष्ट्रपति बन्नका लागि प्रयासरत छन् । एमालेकै माधवकुमार नेपाल पक्षले पनि झलनाथ खनालको पक्षमा लबिङ गरिरहेको छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै बनिसकेका खनाललाई राष्ट्रपति बनाए उचित व्यवस्थापन हुने भन्दै नेपाल पक्ष लबिङमा छ ।

यसको लागि नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत प्रस्ताव राखिसकेका छन् ।

त्यस्तै उपराष्ट्रपतिमा अहिलेका उपराष्ट्रपति नन्द बहादुर पुन जनजाति भएकोले उनलाई नै दोहोर्याउनुपर्छ भन्ने आवाज पनि उठिरहेकोले को बन्छ भनेर अहिल्यै नै भन्न सकिने अवस्था छैन् । जसरी विद्यादेवी भण्डारीले आफू राष्ट्रपतिमा दोहोरिनका लागि प्रचण्डलाई फकाउने प्रयास गरेकी छिन्, उसैगरी पुनले एमाले अध्यक्ष केपी ओलीलाई फकाउने प्रयास गरेका छन् । स्वास्थ्य उपचार गरेर फर्किएपछि पुन ओली निवास नै पुगेको थिए ।

यता सभामुखमा पनि पूर्व सभामुख ओनसरी घर्ती वा सुवासचन्द्र नेम्बाङमध्ये एक जना बन्ने सम्भवना बढि छ ।

गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय सभा तथा प्रादेशिक सरकार निर्वाचनको गृहकार्यसँगै नयाँ राष्ट्रपति,उपराष्ट्रपति, सभामुख, उपसभामुखको चर्चा चुलिँदै गएको छ । निर्वाचनमा ६०–४० को भागबन्डा गरेका एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत रहेकाले सबै ठूला पदमा वाम गठबन्धनबाटै हुने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्