Logo

देउवालाई चुनौति दिदै प्रकाशमान, समानुपातिकमा आफ्ना मान्छे थुपारेर दलको नेता बन्ने दौडमा देउवा



७ माघ, काठमाण्डौ । कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवासँग पूर्वमहामन्त्री प्रकाशमान सिंह भिड्ने भएका छन् । केन्द्रिय समितिको बैठकमा देउवाप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका सिंहले संसदीय दलको नेतामा देउवालाई चुनौति दिन लागेका हुन् ।

तर कांग्रेस संसदीय दलको निर्वाचनमा संस्थापन पक्ष नै हाबी हुने देखिएको छ । प्रत्यक्ष निर्वाचनमा नेता रामचन्द्र पौडेल समूहका धेरै नेता विजयी भए पनि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको सूचीको प्राथमिकताका आधारमा सांसद् छनोट गरिए सभापति शेरबहादुर देउवा पक्ष हाबी हुनेछ । बन्द सूचीको प्राथमिकताका आधारमा सांसद् छनोट भएमा देउवाको पक्षमा ३७ र पौडेलको पक्षमा २२ सांसद् हुनेछन् ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसले २३ सिट जितेको छ । ४० सिट समानुपातिकतर्फ पाउनेछ । ६३ सदस्यीय संसदीय दलको नेता निर्वाचित हुन कम्तीमा ३२ मत आवश्यक पर्छ ।

प्रत्यक्षतर्फ जितेका २३ मध्ये सभापति देउवा पक्षका नौ सांसद छन् । तर समानुपातिकमा आफ्नो पक्षका धेरैलाई समावेश गरेर संसदीय दलको नेता बन्ने दौडमा देउवा छन् ।

नेता कृष्णप्रसाद सिटौला पक्षका तीन सांसद प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । समानुपातिकतर्फबाट उनको पक्षका छनोट हुने सम्भावना कम छ । समानुपातिक उम्मेदवारको बन्दसूचीमा पहिलो नम्बरमा नाम रहेका उद्योगपति विनोद चौधरी भने कुनै पनि गुटमा खुलेका छैनन् ।

नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनको खेमाबाट महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कोषाध्यक्ष सीतादेवी यादव संसदीय दलको दाबेदार हुन् । त्यसमध्ये पनि सिंहले आफूलाई प्रमुख दाबेदारको रुपमा उभ्याएका छन् ।

संसदीय दलमा जित्ने अवस्था नभए महामन्त्री कोइराला उम्मेदवार नबन्ने मनस्थितिमा छन् । तर सिंह भने देउवाको प्रतिष्पर्धीका रुपमा आफूलाई उभ्याउनकै लागि भए पनि उम्मेदवार बन्ने सोचमा छन् ।



प्रतिक्रिया दिनुहोस्