७ माघ, काठमाण्डौ । प्रदेश नम्ब २ को मूख्यमन्त्रीमा प्रमुख दाबेदार मानिएका लालबाबु राउतले आफू पार्टीको निर्णयअनुसार अघि बढ्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राउतले पार्टीको ससंदीय दलको बैठक बसेर पार्टीका प्रदेश समितिका सदस्यहरुले निर्णय गर्ने बताए ।
आफू लामो समयदेखि राजनीति गर्दै आएको र सिनियर पनि भएकाले मूख्यमन्त्रीमा दाबी गर्नु स्वभाविक भएको राउतले बताए ।
पार्टीले निर्णय गरेर जिम्मेवारी दियो भने आफूले बहन गर्ने राउतको भनाई छ ।
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राउत पार्टीका प्रभावशाली नेता हुन् । उनी फोरम नेपाल र राजपाको गठबन्धनको तर्फबाट प्रदेशसभामा पर्सा क्षेत्र नं. १ (ख) बाट विजयी भएका थिए ।
प्रदेश नम्बर २ मा राजपा र फोरमबिचको गठबन्धनले सरकार निर्माण गर्दै छ । दुई दलबिचको गठबन्धन मिलेर सरकार बनाउने कुरामा विवाद नहुने राउतले बताएका छन् ।
प्रदेश नम्बर २ को अस्थायी राजधानी सरकारले वीरगंज बनाउनुपर्नेमा जनकपुर बनाए पनि प्रदेशसभाको दुई तिहाई बहुमतले स्थायी राजधानीको टु्गो लगाउने भएकाले आफूहरु चुप लागेर बसेको राउतले बताए ।
वीरगंजलाई राजधानी बनाउन आफूले पहल गर्ने राउतले बताएका छन् ।




प्रतिक्रिया