Logo

सातै प्रदेशमा प्रदेशसभा सदस्यहरुको शपथ, प्रदेश २ को सपथमा भाषा विवाद



७ माघ, काठमाडौं । सातै प्रदेशका प्रदेशसभामा निर्वाचित सदस्यहरूको आइतबार सम्बन्धित प्रदेशका अस्थायी मुकामहरूमा पद तथा गोपनीयताको शपथग्रहण भएको छ ।संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराएका छन् ।

संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराएका छन्।
प्रदेश नम्बर १ मा प्रदेश प्रमुख गोविन्द सुब्बाले ७४ वर्षीय ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीलाई शपथ गराएका थिए। सरावगीले अरु ९८ प्रदेशसभा सदस्यलाई शपथ खुवाए।

प्रदेश २ का प्रदेशसभा सदस्यहरुको सपथमा तीनवटा भाषाको प्रयोग भएको छ । सपथ लिनेक्रममा नेपाली, हिन्दी र मैथिली भाषाको प्रयोग भएको हो ।
सपथको सुरुवातामा भाषालाई लिएर विवादमा भएको थियो ।

जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा सपथ कार्यक्रम थियो । प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्थबाट जेष्ठ सदस्य लगनलाल चौधरीले नेपाली भाषामा सपथ लिए । एमालेका चौधरी सिरहा १ क बाट निर्वा्चित प्रदेशसभा सदस्य हुन् ।

तर, प्रदेशसभा सदस्यहरुले नेपाली भाषामा सपथ लिँदैनौं भन्दै विरोध गरेका थिए । राजपाका जितेन्द्र सोनलले हिन्दीमा सपथ लिन्छु भने भने मनिष सुमन र माओवादीका जगत यादवले मैथिलीमा सपथ लिने बताए ।

त्यसपछि सबै सदस्यहरुलाई आफूले चाहेको भाषामा सपथ लिने व्यवस्था मिलाइएको थियो । जेष्ठ सदस्य चौधरीले नेपालीमा सपथ पढेका छन् भने प्रदेशसभा सदस्यहरुले आफ्नो भाषामा सपथ लिएका छन् ।

प्रदेशसभा सदस्यहरुको सपथलगत्तै प्रदेश प्रमुखले २१ गते पहिलो बैठक आहृवान गरेको छ ।

प्रदेश नम्बर ३ मा प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई सुरुमा शपथ खुवाइन्। पौडेलले ९९ जनालाई शपथ खुवाए।

प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई आइतबार बिहान शपथ खुवाएका थिए। ६७ वर्षीय श्रेष्ठले ५८ प्रदेशसभा सदस्यलाई शपथ खुवाएका छन्। मनाङ ‘ख’बाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतको आदेशपछि सांसदको शपथ लिनबाट बञ्चित भएका छन्।
प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले आइतबार नै पदबहाली गर्दै जेष्ठ सांसद बलदेव शर्मा पोखरेललाई शपथ खुवाए। पोखरेलले ८६ सांसदलाई शपथ खुवाए। बुटवलको बसपार्क पछाडि रहेको बुटवल उद्योग वाणिज्य संघको हलमा शपथ भएको हो। प्रदेश नम्बर ५ मा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेश सभा सदस्य छन्।
प्रदेश नम्बर ६ मा दिउँसो १ बजे शपथको कार्यक्रम छ। जहाज आउन ढिला भएपछि नेपाली सेनाको हेलिकप्टरबाट सांसदहरु ल्याउनु परेकाले शपथ ढिला भएको हो। प्रदेश प्रमुख दुर्गाकेशर खनालले बदबहाली गरिसकेका छन्। उनले ज्येष्ठ सदस्य ६८ वर्षीय हिमबहादुर शाहीलाई शपथ खुवाएका छन् भने शाहीले ३९ सांसदलाई शपथ गराउने कार्यक्रम छ। प्रदेश ६ मा प्रत्यक्ष र समानुपातिक गरी ४० जना सांसद छन्।
प्रदेश नम्बर ७ को शपथ ग्रहण पनि ढिला हुने भएकाले छ । प्रदेश प्रमुख मोहनराज मल्लको जहाज नउडेपछि गाडीबाट धनगढी आउँदा शपथ नै ढिला हुने भएको हो । प्रदेश प्रमुख धनगढी आएलगत्तै पदबहाली गर्ने र ज्येष्ठ सदस्य ७४ वर्षीय दिव्यश्वरी शाहलाई शपथ खुवाउनेछन् । शाहले ५२ जना प्रदेशसभा सदस्यलाई शपथ खुवाउने कार्यक्रम छ । प्रदेश ७ मा प्रत्यक्ष र समानुपातिक गरी ५३ प्रदेशसभा सदस्य छन् ।



प्रतिक्रिया दिनुहोस्