Logo

नवराज सिलवाललाई समात्न गएका १ सय ६५ जना प्रहरी रित्तो हात फर्किए



७ माघ, काठमाण्डौ । नवराज सिलवाललाई खोज्न ललितपुरको भट्टेडाँडा पुगेको प्रहरीको टोलीले सिलवाललाई फेला पार्न असफल भएको छ ।
बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा छानविन गर्न खोजेदेखि नै फरार रहेका सिलवाल ललितपुरको भट्टेडाँडामा रहेको जानकारी पाएपछि प्रहरी आइतवार त्यहाँ पुगेको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट डिएसपीको कमान्डमा १ सय ६५ जनाको टोलीले भट्टेडाँडा पुगेर सिलवाललाई सर्च गरे पनि उनी फेला नपरेको प्रहरीले जनाएको छ । करिब चार घन्टा लगाएर गरिएको सर्च असफल भएको हो ।

सर्वोच्च अदालतले सिलवालले कामसू कीर्ते गरेको र त्यसबारे अनुसन्धान थाल्न निर्देशन दिएपछि काठमाडौं प्रहरीले उनलाई खोज्न थालेको थियो ।

सिलवालसँग सोधपुछ र बयान लिनुपर्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरलाई काठमाडौं प्रहरीले गत पुस १८ गते पत्राचार गरेको थियो । तर, प्रहरी परिसर ललितपुरले सिलवालको ठेगानामा उनी नभेटिएको भन्दै पत्राचार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्