Logo

सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा



काठमाडौं, ७ माघ । अर्थराज्यमन्त्री उदयशमशेर राणाले व्यवसायी अजेयराज सुमार्गीको सम्पत्तिको बारेमा गरिएको छानबिन दोस्रो चरणमा पुगेको बताएका छन् ।

मन्त्री राणाले अर्थ मन्त्रालयले पहिलो चरणको अनुसन्धान सम्पन्न गरेर दोस्रो चरणको छानबिनका लागि अन्तराष्ट्रिय संस्थासँग समन्वय गर्न लागिएको बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री राणाले सुमार्गीले विदेशबाट अवैध रुपमा नेपालमा पैसा ल्याएको भन्ने विषयमा नेपालमा मात्रै अनुशन्धान गरेर सबै कुरा पत्ता लगाउन नसकिएको बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,“नेपालमा मात्रै अनुुुसन्धान गर्न सकिँदैन । विदेशी संस्था र बैँकसँग पनि समन्वय गर्नुपर्छ । त्यो चरण सुरु भएको छ ।” मन्त्री राणाले अघि भने,“प्रि–इन्भेष्टिगेशन सकिएको छ । अब इन्भेष्टिगेशनमा जाने प्रक्रियामा छौं ।”

अनुसन्धानका क्रममा सुमार्गीले कहाँबाट कसरी पैसा ल्याएर र उक्त पैसा कहाँ लगानी भएको छ भन्ने कुराको विषयमा अनुसन्धान भईरहेको राणाले बताए । मन्त्री राणाले क्लबका सभापति धमलाले सुमार्गीकोबारेमा विषय उठान गरेकोप्रति बोल्दै भने,‘ऋषिजीले जुन विषय उठान गर्नुभएको छ, मैले आज सरकारको तर्फबाट आधिकारिक दृष्टिकोण सार्वजनिक गरेको छु, सरकारको तर्फबाट पहिलो पटक बोलेको छु, छानबिन दोस्रो चरणमा पुगेको छ।’

सुमार्गीले स्रोत नखुलेको अरबौँ रकम नेपाल ल्याएको र अझै मोटो रकम भित्र्याउन प्रयासमा रहेको आरोप लाग्दै आएको छ ।

फरक प्रसंगमा मन्त्री राणाले कांग्रेसले सत्ता छोड्न नमानेको भन्ने आरोपको खण्डन गरे । संविधानअनुसार प्रक्रिया पूरा गरेपछि सरकार हस्तान्तरण हुने राणाको भनाई थियो ।

संविधानअनुसार प्रक्रिया र जिम्मेवारी छोडेर सरकार छाड्दा अन्यौलता सिर्जना हुने भएकाले राष्ट्रियसभाको चुनाव सम्पन्न भएपछि सरकार छोडिने राणाले बताए ।

वाम गठबन्धनका कारण नै कांग्रेसले चुनाव हारेको भन्दै राणाले केन्द्रिय समिति बैठकमा चुनावी समिक्षा सुरु भएको बताए । केन्द्रिय समितिमा समिक्षा गरेपछि महासमिति बैठक बसेर पराजयको समिक्षा हुने राणाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्