Logo

ओलम्पिकपछि पनि वार्तालाई निरन्तरता दिनुपर्छ : राष्ट्रपति इन



सोल, ८ माघ : दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आगामी ओलम्पिक खेलकूदपछि पनि दुई कोरियाबीचको वार्तालाई जारी राख्नुपर्नेमा जोड दिनुभएको छ ।

सोमबार आफ्नो सचिवालयका अधिकारीहरुलाई गर्नुभएको सम्बोधनमा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, “उक्त खेलकूदपछि पनि वार्ताको वातावरण बनाउनुपर्छ ।

उहाँले आफू वार्ताप्रति आशावादी भएको र आगामी दिनमा पनि वार्तालाई निरन्तरता दिनुपर्छ भन्ने गृहकार्यमा लागिपरेको उहाँले बताउनुभयो ।

आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाले सहभागिता जनाउने भएको समाचार यसअघि नै आएको थियो ।

सो खेलकूदका कारण दुई कोरियाबीच गएको महिना दिनयता तीन पटकसम्म उच्चस्तरीय वार्ता भएको छ भने चार वर्षयता पहिलो पटक उत्तर कोरियाली अधिकारीहरुले दक्षिणको भ्रमण गरेका छन् ।

उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारी पठाउने जानकारी यसअघि नै दिइसकेको छ । यसले गर्दा यी दुई देशबीचको सम्बन्धमा पछिल्लो समयमा सुधार आएको देखिएको छ ।

उक्त खेलकूदमा २२ जना एथलेट्स र अरु खेलकूद अधिकारी उत्तरले दक्षिण पठाउन लागेको छ । ती खेलाडीको नामावली र उनीहरुले खेल्ने खेलका बारेमा ओलम्पिक कमिटीले अनुमोदन गरिसकेको बताइएको छ ।

उक्त खेलकूदलाई विगत लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहिआएका यी दुई देशको सम्बन्ध सुधारका लागि वातावरण थप सौहार्द बनाउने एक माध्यमका रुपमा विकास गर्न विश्व समुदायले नै आग्रह गरिरहेको छ । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्