Logo

आहा रारा गोल्डकप आजदेखि, प्रथम र द्वितीय पुरस्कारको राशी बृद्धि



९ माघ, पोखरा । पोखरामा हरेक वर्ष संचालन हुँदै आएको प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।
१६ औं संस्करणको आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखि सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा माघ २० गतेसम्म हुने छ ।

प्रतियोगिताको उदघाटन खेलमा आयोजक सहारा क्लव पोखरा र सुदूरपश्चिम स्पोर्टिङ क्लव धनगढी भिड्दैछन् । आयोजक सहारा क्लवले सोमबार साँझ खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेलमा सहारा र सुदूरपश्चिम प्रतिष्पर्धामा उत्रिने जनाएको हो ।

क्लबले वर्क परमिट लिएका विदेशी खेलाडीलाई मात्रै प्रतियोगितामा खेल्न दिइने भएको छ । आयोजक सहारा क्लवले क्लोज क्याम्पमा राखेर प्रशिक्षण गराएका विदेशी खेलाडीलाई वर्क परमिट नभएकै कारण नखेलाउने निर्णय गर्दै फिर्ता गरेको छ । संकटामा पनि विदेशी खेलाडी रहेको र उनीहरुको वर्क परमिट नभए खेल्न नपाउने बताइएको छ ।

खेल तालिका अनुसार पहिलो चरणको खेल अन्तर्गत माघ १० गते बुधबार भारतको युनाइटेड सिक्किम फुटवल क्लवबिरुद्ध धरान फुटवल क्लव, माघ ११ गते विहीबार विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ कलवबिरुद्ध संकटा क्लव र माघ १२ गते अर्को विभागीय टिम नेपाल पुलिस क्लव बिरुद्ध रमपम झापा ११ प्रतिष्पर्धामा उत्रिनेछ ।

प्रतियोगितामा ३ विभागिय टिमसहित १२ टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा विभागीय टिमसहित ३ वटा ए डिभिजन क्लव, ३ मोफसल, २ विदेशी र आयोजक एकसहित १२ टिमले प्रतिष्पर्धा गर्ने क्लवले जनाएको छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने नारासहित हुन लागेको प्रतियोगितामा विभागीय टिमहरु नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी वलको एपिएफ क्लब, ए डिभिजन क्लबहरु मनाङ मस्र्याङ्दी, थ्रिस्टार, संकटा क्लब, मोफसलका रमपम झापा ११ फुटवल क्लब, धरान फुटवल क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब धनगढी, विदेशी टिम उत्तर बरिन्धरा क्लब बंगलादेश, युनाइटेड सिक्किम फुटवल क्लब भारत र आयोजक सहारा क्लवले प्रतिष्पर्धा गर्ने छन् ।

प्रतियोगिताको प्रथम र द्वितीय पुरस्कारको राशी बृद्धि गरिएको छ । आयोजक सहारा क्लव पोखराले प्रथम पुरस्कारमा २ लाख वृद्धि गरेर ७ लाख १ हजार र द्वितीय पुरस्कारमा १ लाख वृद्धि गरेर ३ लाख ५१ हजार पुर्याएको छ । बिजेतालाई नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई हिरो ड्यास स्कुटर तथा बेष्ट अफ फाइभ विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष थापाले बताए । प्रतियोगिताको सर्वा्धिक गोलकर्तालाई भने नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र दिइने छ ।



प्रतिक्रिया दिनुहोस्