युवा नेताहरुले भाषण गरेर मात्रै हुँदैन, विकल्प दिन सक्नुपर्छ : रामचन्द्र पौडेल (भिडियोसहित)


९ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले युवा पुस्ताले पार्टी संचालन गर्न नसक्ने बताएका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलाले सोधेको प्रश्नको जवाफ दिदै पौडेलले युवा नेताहरु गहिराईमा नपुगी भाषण मात्रै गरेर तरङ्ग पैदा गरेको आरोप लगाए ।

युवा नेताहरुको अभिव्यक्तिप्रति आफ्नो कुनै आपत्ति नभए पनि भाषणभन्दा जिम्मेवारीलाई अंगिकार गर्न पौडेलले सुझाब दिए ।
“युवा नेताहरुले आफूलाई पार्टीको मर्मअनुसार चलाउनुपर्छ । गहिराईमा पुग्दै नपुग्ने अनि सतहमा शब्द फ्याकिदिएर मात्रै त हुँदैन नि । भनेर मात्रै भएन, विकल्प दिन सक्नुपर्यो नि ।” पौडेलले भने ।

केन्द्रिय समिति बैठकमा कसैले पनि आफूले भनेका कुरा निर्णयमा पु¥याउन नसकेको आरोप पौडेलको छ । युवाहरुलाई प्रतिवद्धताका साथ उभिन सुझाब दिँदै पौडेलले भने, “शब्द मात्रै फ्याकेर तरङ्ग पैदा गर्ने कुरालाई म विश्वास गर्दिन । आफूलाई चर्चित बनाउने कुरा मात्रै नगर्नुस् । के लक्ष्यमा कांग्रेसलाई पु¥याउने हो, प्रतिबद्ध हुनुस् ।”

कुराकानीका क्रममा पौडेलले केन्द्रिय समितिको बैठकले महासमितिको बैठकको मिति तोक्ने बताए ।

अब विशेष महाधिवेशनमा जानुपर्नेमा उनले जोड दिए । “अन्यौलबाट पार्टीलाई मुक्त गर्नुपर्छ । यो आँट गर्नुपर्छ । महाधिवेशनमा जानुअघि गर्नुपर्ने काम तुरुन्त गर्नुपर्छ । राष्ट्रियसभाको चुनावपछि पार्टी विश्राम लिएर अल्छी गर्न पाइदैन । पार्टीले नयाँ काँचुली फेरर नयाँ जीवन दिन सक्नुपर्छ ।” पौडेलले भने ।