काठमाडौं, ९ माघ । राष्ट्रियसभा सदस्यको निर्वाचन तालिकाअनुसार उम्मेदवारको मनोनयनपत्र दर्ताको मिति नजिकिएसँगै प्रमुख दल आफ्ना उम्मेदवार टुंगो लगाउन व्यस्त छन् ।
निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाउन नेपाली काँग्रेस पदाधिकारी बैठक बिहानदेखि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा शीर्ष नेताहरुवीच रोचक कुराकानी भएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार बरिष्ठ नेता रामचन्द्र पौडेललाई आजको बैठकमा देखेपछि प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालले सुरुवातमै व्यंग्य गरिहाले,‘लौ, रामचन्द्रजी तपाई त बैठकमा आउँदिन भनेर ऋषि धमलासँगको अन्र्तवार्तामा भन्दैहुनुहुन्थ्यो त, तर यहाँ आईसक्नुभएछ त ?’
नेता सिटौलालले यसरी व्यंग्य कसेपछि पौडेल एक छिन अक्क न बक्क भएका थिए । उनले त्यसबारेमा कुनै प्रतिक्रिया दिएनन् । आईतबार पत्रकार ऋषि धमलाको धमलाको हमलामा नेता पौडेलले आफू पदाधिकारी बैठकमा नजाने बताएका थिए ।
यता देउवासंग असन्तुष्ट रहेका नेता खुमबहादुर खड्काले भने आजको बैठक बहिष्कार गरेका छन् । उनी काठमाडौंमै रहेपनि बैठकमा सहभागी नभएका हुन् ।
काँग्रेसले सोमबार प्रदेश नं ७ बाट बद्री पाण्डे (खुला), तारादेवी भट्ट (महिला), धर्मराज जोशी (अपांग) र शेरीराम पार्की (दलित)लाई उम्मेदवार बनाउने निर्णय गरिसकेको र बाँकी प्रदेशमा पनि आजै उम्मेदवारको टुंगो लगाउने भएको हो ।
निर्वाचनमा कांग्रेसले सहकार्यका लागि विभिन्न प्रदेशमा विभिन्न दलसँग विभिन्न चरणमा छलफल गरिसकेको छ । काँग्रेसले निर्वाचनमा प्रदेश नं २ मा राजाप र फोरम नेपालसँग सहकार्य गर्ने भन्दै सोही अनुसार छलफल अगाडि बढाएको हो तर तालमेलको लागि सिट संख्यामा कुरा नमिलेपछि यता राजपा र फोरमले वाम गठबन्धनसँग समेत छलफल अघि बढाएको छ।
आयोगले माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुने जनाईसकेको छ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अनुसार आइतबार सात वटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिसकेको छ ।




प्रतिक्रिया