Logo

एकतापछि प्रधानमन्त्री र अध्यक्ष दुवै ओली बन्नुहुन्छ : राई



काठमाडौं, १० माघ । नेकपा एमालेका नेता शेरधन राईले एमाले–माओवादी केन्द्रवीच एकता भएपछिपनि पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओली नै हुने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता राईले पार्टी एकतापूर्व नै नयाँ सरकार गठन हुन सक्ने विश्वास दिलाए । उनले भने,‘एमाले र माओवादीवीच एकता छिट्टै हुन्छ, यसको लागि हामी आन्तरिक गृहकार्यमा जुटिसक्यौं, केही नीतिगत, सैद्धान्तिक र सांगाठनिक कुराहरु जो छन्, यी विषयमा सहमतिमा पुग्नको लागि अलिक समय लाग्नसक्छ।’ राईले पार्टी एकतापूर्व नै सरकार गठन भए कसैले आश्चर्य मान्न नहुने धारणा राखे ।

क्लबका सभापति ऋषि धमलाको सभापतत्विमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टी एकतापछि प्रधानमन्त्री र अध्यक्ष एउटै व्यक्ति भएपनि आश्चर्य नमान्न सुझाव दिए । उनले भने,‘ओली र प्रचण्डवीचको समझदारीमा सबै कुरा टुँगोमा पुग्छ, सरकार र पार्टी दुवैको नेतृत्व ओली गर्न सक्नुहुन्छ।’

पूर्वमन्त्री समेत रहेका नेता राईले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसँगै निर्वाचनले पूर्णता पाउने उल्लेख गर्दै भने,‘यतिवेला हामी राष्ट्रिय सभाको निर्वाचनको तयारीमा छौं, यो निर्वाचन सम्पन्न भएपछि निर्वाचनको चक्र पूर्णता पाउँछ, यतिवेला नयाँ सरकार गठन भैसक्नुपर्दथ्यो, तर वर्तमान सरकारले अलिक बढि समय नै बस्ने रुचि देखाएकोले केही विलम्ब भएको थियो, अहिले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त भैसक्यो।’ नेता राईले आगामी फागुणको दोस्रो साताभित्रै नयाँ सरकार गठन भैसक्ने स्पष्ट पारे ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने कुरामा कुनै द्धिविधा नभएको स्पष्ट पारे । राईले भने,‘फागुणको दोस्रो साताभित्रै वाम गठबन्धनको त्यसमा पनि एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुन्छ, यसमा कुनै द्धिविधा छैन, उहाँ सर्वसम्मतीले संसदीय दलको नेता बन्नुहुन्छ।’ उनले यही माघभित्रै प्रदेश सरकारहरु गठन भैसक्ने समेत जिकिर गरे ।

अब बन्ने सरकारले मुलुकमा स्थायित्व र आर्थिक समृद्धि हाँसिल गर्ने भएकोले जनताको चाहना अनुसार नै नयाँ सरकारले काम गर्ने विश्वास दिलाए । उनले भने,‘अब बन्ने सरकारले मुलुकमा स्थायित्व, सुशासन, अमनचयन, शान्ति र विकास गर्ने प्रमुख लक्ष्य लिनेछ, जनताको चाहना अनुसार काम गर्नेछ, यो सपना पूरा गर्नको लागि वाम गठबन्धनले चुनावमा गरेका प्रतिबद्धताहरुलाई अब पूरा गर्छ, हामी पूर्ण प्रतिबद्ध छौं।’

प्रमुख प्रतिपक्षी दललाई पनि विश्वासमा लिएर आफूहरु अघि बढ्ने उनको भनाई थियो । उनले भने,‘आर्थिक समृद्धि हाँसिल गर्नको लागि हामी विपक्षी दललाई पनि सम्मानका साथ सँगै लिएर जान चाहन्छौं, विकास र समृद्धिको यात्रामा उहाँहरुलाई पनि गोलबन्द गर्नेछौं।’

राईले आफू मुख्यमन्त्रीको दाबेदार भएकोले प्रदेश संसदीय दलको नेताको निर्वाचनमा आफलाई विजयी गराउने विश्वास दिलाए । उनले भने,‘म मुख्यमन्त्रीको दाबेदार हुँ, संसदीय दलको नेतामा उम्मेद्धवार दिन्छु, म पराजित भएँ भने पनि बन्ने प्रदेश सरकारलाई पूर्ण सहयोग र साथ दिनेछु।’ यद्धपी उनले प्रदेश सांसदहरुले आफूलाई नै संसदीय दलको नेतामा विजयी गराउने कुरामा पूर्ण विश्वास रहेको सुनाए ।

उनले आफू प्रदेश नम्बर १ को मुख्यमन्त्री बने उक्त प्रदेशको विकासको लागि दत्तचित्त भएर काम गर्ने विश्वास दिलाए । उनले भने,‘प्रदेश नम्बर १ विकास र समृद्धिको हिसावले अत्यन्तै धेरै ठूलो संभावना बोकेको प्रदेश हो, हामी मुख्यगरि कृषि, पर्यटन र जलस्रोतको विकासमा केन्द्रित हुन्छौं, हाम्रो विकासको मुख्य आधारहरु नै यीनै हुन् ।’

त्यस्तै उनले अहिले तोकिएको प्रदेशको अस्थायी राजधानीको विवादबारे टिप्पणी गर्दै भने,‘प्रदेशको स्थायी राजधानी प्रदेश सभाका दुई तिहाई सांसदहरुले निर्णय गर्ने कुरा हो, हामी उचित र आवश्यकत्ता अनुसार उचित निर्णय लिन्छौं।’



प्रतिक्रिया दिनुहोस्