Logo

प्रधानमन्त्री देउवाद्धारा स्काउट संरक्षकको दीक्षा ग्रहण



काठमाडौं, १० माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्काउट दीक्षा ग्रहण गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार आयोजित एक समारोहकाबीच प्रधानमन्त्री देउवाले नेपाल स्काउटको संरक्षकको दीक्षा लिएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले विश्व स्काउटको सिद्धान्त र मान्यता अनुरुप स्काउट प्रतिज्ञा स्व वाचन गरी दीक्षा ग्रहण गरेका थिए ।नेपाल स्काउट ऐन, २०५० बमोजिम नेपाल स्काउटको संरक्षकको रुपमा प्रधानमन्त्री रहने व्यवस्था छ ।

दीक्षा ग्रहण पछि प्रधानमन्त्री देउवाले स्काउटले एक स्वयंसेवी संस्थाको रुपमा असल कार्य गरी रहेको बताए । स्काउटले निस्वार्थ काम गरेको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने “यस संस्थाको विकास भएमा युवाहरुको सर्वाङ्गीण विकासमा महत्वपूर्ण हुने र दश लाख स्वयंसेवी परिचालन गर्न सरकारले लिएको लक्ष्य सजिलै पूरा हुनेछ” ।

प्रधानमन्त्रीको दीक्षा कार्यक्रममा नेपाल स्काउटका प्रमुख स्काउट समेत रहेका युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, युवातथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव महेश दाहाल सहित नेपाल स्काउटका राष्ट्रिय संयोजक चन्दन कौशिक, वर्तमान तथा पूर्व पदाधिकारीहरु एवं वरिष्ठ स्काउट सदस्य र कर्मचारीहरु उपस्थित थिए ।

विसं २००९ सालमा नेपालमा यस संस्थाको स्थापनागरिएको थियो । हाल नेपाल स्काउटमा ६० हजारको संख्यामा सदस्य रहेका छन् । युवा तथा विद्यार्थीहरुलाई आत्मनिर्भर, आत्मसक्षम, नैतिकवान, चरित्रवानएवम् अनुशासितबनाई समाज र राष्ट्रको समुन्नतविकासमा योगदानदिनसक्ने नागरिक तयार गर्ने उद्देश्यले नेपाल स्काउट अगाडी बढि रहेको कुरा राष्ट्रिय संयोजक कौशिकले बताए ।

सन् १९०७ मा बेलायती नागरिक लर्ड वेडेन पावेलले स्काउट नामक स्वयंसेवी संस्थाको शुरुवात गरेका थिए । हाल विश्वका २ सय भन्दा बढी देशमा यसको सञ्जाल फैलिएको छ भने विश्वभर ५ करोडको हाराहारीमा सदस्यहरु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्