Logo

हामीले त्यस्तो निर्णय नै गरेका छैनौँ, जुन नयाँ सरकारले उल्ट्याउनु परोस् : मन्त्री गौतम



११ माघ, काठमाण्डौ । सिँचाई मन्त्री तथा नेपाली कांग्रेसका नेता संजय गौतमले सरकारले अत्यावश्यक निर्णय मात्रै गरेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री गौतमले दीर्घकालिन रुपमा असर पर्ने नीतिगत निर्णय नगरिएको दाबी गरेका हुन् ।

६५ वर्षमै वृद्ध भत्ता दिने निर्णय किन गर्नुभयो भन्ने धमलाको प्रश्नमा गौतमले भने, “त्यो त ठिकै हो नि । ७० वर्ष स्वभाविक थिएन । ६५ वर्षमा ल्याउनु जरुरी थियो । आवश्यक देखेर गरिएको हो ।”

बुधबारको मन्त्रीपरिषद बैठकले ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । यसअघि ७० वर्ष उमेर पुगेकालाई मात्रै वृद्ध भत्ता दिइँदै आएकोमा सरकारले ६५ वर्ष उमेर पुग्ने बित्तिकै वृद्धभत्ता दिने निर्णय गरेको हो ।

मन्त्रीपरिषदमा धेरै छलफलपश्चात सबैको सहमतिमा नै निर्णय गरिएको गौतमको दाबी छ । सरकारले बाहिर प्रचार भएजस्तो अनावश्यक काम र निर्णय नगरेकोसमेत उनको दाबी छ ।

अहिलेको सरकारले गरेको निर्णय वाम गठबन्धनको सरकारले उल्ट्यायो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा गौतमले भने, “उल्ट्याए भइहाल्यो नि । हामीले त्यस्तो निर्णय नै गरेका छैनौँ, जुन उल्ट्याउनु परोस् ।”

आफूहरु जतिसक्दो चाँडो सरकार हस्तान्तरण गर्न तयार भए पनि वाम गठबन्धनकै अवरोधका कारण ढिला भएको मन्त्री गौतमको आरोप छ ।जनतको जनादेशअनुसार सरकार छोड्न तयार भए पनि गठबन्धनले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश अड्काएर ढिला गराएको उनको आरोप छ ।

वाम गठबन्धनको सरकार जतिसक्दो चाँडो बनोस् भन्दै कांग्रेस सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न तयार रहेको गौतमको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्