Logo

६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने निर्णय स्वागतयोग्य : रायमाझी



११ माघ, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले प्रदेशमा सरकार बनाउने विषयमा माओवादीको केही पनि दाबी नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले पार्टी एकता प्रक्रिया चलिरहेकाले समझदारीमा नै प्रदेश सरकार बनाइने बताएका हुन् ।

छ वटा प्रदेशमा वाम गठबन्धनले सरकार बनाउने अवस्था रहेको भन्दै उनले अहिले लेनदेनको राजनीति नगरिने बताए । “सहकार्य, एकता र सहकार्यको राजनीति गर्दैछौँ । जसले देशमा स्थिरता कायम गरेर समृद्धि र विकासको युगमा प्रवेश गछौँ ।” उनले भने ।

नेता रायमाझीले सरकारले ६५ वर्ष पुगेका नागरिकलाई वृद्ध भत्ता दिने निर्णय गर्नु राम्रो भएको भन्दै स्वागत गरे ।

बुधबारको मन्त्रीपरिषद बैठकले ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । यसअघि ७० वर्ष उमेर पुगेकालाई मात्रै वृद्ध भत्ता दिइँदै आएकोमा सरकारले ६५ वर्ष उमेर पुग्ने बित्तिकै वृद्धभत्ता दिने निर्णय गरेको हो ।

वृद्धवृद्धालाई सम्मान हुने गरी गरिएको निर्णयलाई महत्वपूर्ण भन्दै उनले आगामी सरकारले निरन्तरता दिने बताए । यद्यपी यही निर्णय पहिल्यै गर्नुपर्नेमा काम चलाउ हुँदा गर्न नहुने बताए ।

त्यसैगरी भूकम्प पीडितलाई थप एक लाख दिने निर्णय पनि स्वागतयोग्य भएको रायमाझीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष प्रचण्ड हुने गरी एमाले र माओवादीबिच पार्टी एकता हुने सम्भावना प्रबल रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्