Logo

ओली–प्रचण्ड सम्बन्ध चिसिएकै हो त ?



१२ माघ, काठमाण्डौ । नेकपा एमाले र माओवादीबिचको पार्टी एकता चुनाव लगत्तै होला भन्ने कतिपयलाई लागेको थियो । त्यसपछि विभिन्न राजनीतिक घटनाक्रमले एकता प्रक्रिया लम्बियो, जसलाई स्वभाविक मान्न सकिन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका लागि विदेश गएपछि केही दिनका लागि राम्रै बाहाना मिल्यो । ओली विदेश भइन्जेल एमाले र माओवादीका नेताहरुले भनेका थिए, “ओली फर्किएपछि एकता प्रक्रियाले गति लिन्छ ।”

तर त्यस्तो नतिजा केही देखिएको छैन । ओली र प्रचण्डबिच अझै कुरा मिल्न नसकेको संकेत स्पष्ट छ । विशेषगरी पदीय भागबण्डामै कुरो अड्किएको आशंका पनि धेरैको छ ।

चुनावी गठबन्धनपछि ओली र प्रचण्डचिको सम्बन्ध राम्रो त भएको छ, तर ओलीलाई प्रधानमन्त्री बनाउन माओवादी तयार भइसक्दा पनि एमाले भने प्रचण्डलाई अध्यक्ष बनाउनुपर्छ भन्ने अवस्थामा पुग्न सकेको छैन ।

चुनावपछि सबैभन्दा ठूलो पार्टी बनेकाले ओली स्वभाविक रुपमा प्रधानमन्त्रीका दाबेदार हुन्, जसलाई जनताले पनि स्विकार गरिसकेका छन् । तर प्रचण्डलाई अध्यक्ष बनाउने र नबनाउनेमा सबै एकमत हुन सकेका छैनन् ।

एमालेले भने दलीय हैसियतका आधारमा ओली नै अध्यक्ष पनि बन्नुपर्छ भन्ने मान्यतामा छन् भने माओवादीका नेताहरु प्रचण्डलाई प्रधानमन्त्री र अध्यक्ष दुवै नदिएको खण्डमा पार्टी एकताको औचित्य नहने निष्कर्षमा छन् ।

प्रचण्डलाई ओलीपछिको हैसियत दिएर महाधिवेसनमा जानुपर्ने एमालेको ठहर जस्तै छ । यो कुरा स्विकार गर्न नत प्रचण्डले सकेका छन्, नत माओवादीका नेताहरुले । अर्कोतिर एमालेकै बामदेव गौतम पक्षधर पनि प्रचण्डलाई अध्यक्ष बनाउनुपर्नेमा जोड दिएका छन् ।

अर्का नेता माधवकुमार नेपालले एकता गर्नका लागि प्रचण्डलाई अध्यक्ष बनाउनुपर्ने आशय व्यक्त गर्दै आएका छन् । यद्यपी पछिल्लो समय नेपाल पक्ष पनि प्रचण्डलाई अध्यक्ष दिदा भोलीका दिनमा पार्टीकसरी चल्ला भन्ने चिन्तामा छन् ।
यद्यपी प्रचण्डलाई कस्तो भूमिका दिने भन्नेमा बहस एमालेभित्र बहस भने भइरहेको छ ।

एमाले महासचिव ईश्वर पोखरेल, सचिव योगेश भट्टराई, शंकर पोखरेल र शेरधन राईहरु ओलीलाई अध्यक्ष बनाउनुपर्ने भन्दै जोडदारका साथ लागेका छन् । एमालेभित्र प्रचण्डलाई अध्यक्ष बनाएर पार्टी एकता गर्नुपर्छ भन्नेमा खुलेर लागेका बामदेव गौतम मात्रै हुन् ।

पार्टी एकता हुनुपर्छ भन्ने दबाब भने दुर्व दलको सबै नेतालाई छ । भिम रावल, प्रदिप ज्ञवाली र अग्नी खरेलहरु मध्यमार्गी बाटोमा छन््,जो पार्टी एकताका लागि प्रतिवद्ध भएर लाग्नुपर्छ भन्ने मनस्थितीमा देखिन्छन् ।

विहिबार वृहत पत्रकार सम्मेलन गरेका एमाले अध्यक्ष ओलीले पार्टी एकताका लागि गृहकार्य भइरहको त भने तर पदीय भागबण्डाको विषयमा खुलेर बोल्न सकेनन् । पत्रकार ऋषि धमलाको प्रश्नमा ओलीले पार्टी एकताका लागि कार्यदलले काम गरिरहेको छ भन्दै पन्छिए ।

यही प्रश्न धमलाले एमाले–माओवादीले चुनावलगत्तै गरेको पत्रकार सम्मेलनमा ओली र प्रचण्ड एउटै मन्चमा हुँदा पनि गरेका थिए । त्यसबेला पनि दुवै अध्यक्षले स्पष्ट जवाफ दिन सकेका थिएनन् ।

त्यसैले पदीय भागबण्डा पार्टी एकताको मूल समस्या हो भन्न सकिन्छ । ओली प्रचण्डबिचको सम्बन्ध राम्रो भएर नै एकता हुनुपर्छ भन्ने मनसाय सबैको छ ।
केही दिन बादल लागेर खुला भएको आकाश जस्तो एमाले–माओवादीबिचको पार्टी एकता कहिले हुने हो अझै भन्न सकिने अवस्था छैन ।

काठमाण्डैको मौसम निकै चिसो भइरहेका बेला प्रचण्ड र ओलीबिचको सम्बन्ध पनि यस्तै चिसो हुने हो वा चिसिइसकेको हो कि भन्ने चिन्ता र डर धेरैमा छ ।

काठमाण्डौमा पानी परेपछि अब चिसो हट्छ भन्ने आशामा यहाँका जनता छन्, यस्तै आशा देशैभरी छ । दुई दलबिचको एकतामा पनि चिसो हटेर उज्यालो घाम अनि न्यानो तापको पर्खाइमा रहेका जनताको अपेक्षा पूरा गर्ने जिम्मा भने ओली र प्रचण्डकै हातमा छ ।



प्रतिक्रिया दिनुहोस्