Logo

६ वटामध्ये एउटा प्रदेशमा मात्रै माओवादीलाई सरकार बनाउन दिने एमालेको संकेत



१४ माघ, काठमाण्डौ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे माओवादीसँग पदीय भागबण्डाको विषयले कुनै समस्या नभएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले मुख्यमन्त्री र सभामुखको विषयमा समय अभावका कभारण अहिलेसम्म छलफल नै नभएको बताए ।

६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने निश्चित जस्तै छ । तर दुई दलबिच भागबण्डा नमिलेको चर्चा भइरहेको छ । तर पाण्डेले एक घण्टाभित्रमा सहमति गरिने दाबी गरेका छन् ।

कुन प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयमा टुङ्गो नलागेको उनको भनाई छ । आज बस्ने वाम गठबन्धनको संयुक्त कार्यदल बैठकले यस विषयमा निष्कर्ष निकाल्ने पाण्डेले बताए ।

प्रदेश एक र तीनमा एमालेको एक्लै बहुमत भएकाले एमालेले नै सरकार बनाउने निश्चित भएको र ४, ५, ६ र ७ मा दुई दलबिच सहमति गरेर टुङ्ग्याइने पाण्डेले बताए ।

प्रदेश नम्बर चारमा पनि माओवादीबाट मूख्यमन्त्रीका दाबेदार सासंद नै नभएकाले त्यहाँ पनि एमालेकै मुख्यमन्त्री बन्ने उनको भनाई छ । पाँच नम्बरमा पनि शंकर पोखरेलको निश्चित भइसकेकाले माओवादीले दाबी नगर्ने उनले बताए ।

प्रदेश नम्बर ६ र ७ मा भने माओवादीको दाबी भएको र त्यस विषयमा कार्यदल बैठकले टुङ्गो लगाउने पाण्डेको भनाई छ ।

प्रदेश ६ मा पनि ४० सासंदमध्ये २० जना एमालेबाट जितेका सासंद भएकाले एमालेको पनि दाबी हुनसक्ने पाण्डेले बताए । यस विषयमा माओवादीसँग छलफल गरिने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्