Logo

बादलले हार्ने भएपछि बेदुराम भुसालको उम्मेदवारी फिर्ता गराउन माओवादीको प्रस्ताव



१५ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा ३ नम्बर प्रदेशबाट उम्मेदवार बनेका नेता रामवहादुर थापा बादल ‘डेन्जर जोन’मा पर्न सक्ने आशंका माओवादीले गरेपछि सोही प्रदेशबाट एमालेका तर्फबाट उम्मेदवारी दिएका बेदुराम भुसालको उम्मेदवारी फिर्ता हुने भएको छ ।

सोमबार विहानवाम गठबन्धनका शीर्ष नेता एमाले संसदीय दलको कार्यालयमा आकस्मिक रुपमा जम्मा भएर बादललाई जिताउनका लागि भुसालको उम्मेदवारी फिर्ता गर्नुपर्ने निष्कर्षमा पुगेका हुन् ।

साना दलले कांग्रेसका राधेश्याम अधिकारीलाई समर्थन गरिसकेको अवस्थामा वाम गठबन्धनका खुलातर्फ दुईमात्र उम्मेदवार जित्ने निश्चित छ । तर गठबन्धनबाट तीनजना उम्मेदवार बनेका कारण यदि एमालेबाट अन्तर्घात भएमा बादल हार्न सक्ने खतरा देखिएपछि माओवादीले भुसालको उम्मेदवारी फिर्ता लिनुपर्ने प्रस्ताव गरेको हो ।

एमालेबाट बलराम बास्कोटा र बेदुराम भुसाल उम्मेदवार छन् भने माओवादीबाट बादल उम्मेदवार छन् । प्राथमिकता क्रममा एक नम्बरमा बास्कोटा र २ नम्बरमा बादल भए पनि माधव नेपाल पक्षले बेदुराम भुसाललाई पहिलो प्राथमिकताको मत दिएको अवस्थामा बादलले हार्ने सम्भावना देखिएको हो ।

एमालेभित्र भुसाल माधव नेपालका सदावहार निकट नेता हुन् भने बास्कोटा बामदेव गौतमका निकटस्थ हुन् । नेपाल पक्षले बेदुरामलाई पहिलो प्राथमिकताको मत दिएको खण्डमा बास्कोटा वा बादल हार्न सक्ने भएकाले उनको उम्मेदवारी फिर्ता लिनुपर्ने प्रस्ताव माओवादीले राखेको हो ।

साना दलसँग आज निर्णायक छलफल गर्ने र उनीहरुको मत नआउने अवस्थामा बेदुराम भुसालको उम्मेदवारी कायम नरहने सहमति बैठकमा भएको छ । तीनजना उम्मेदवार कायम राखेर जिताउनैपर्ने उम्मेदवार हार्न सक्ने खतरा मोल्न नहुनेमा नेताहरु सहमत भएका हुन् ।

माधव नेपालले भुसालको उम्मेदवारी कायम रहनुपर्ने पक्षमा शुरुदेखि नै अडान लिए पनि शीर्ष बैठकमा सहमति जनाएका छन् । निर्वाचन आयोगले दिएको समय अनुसार अपरान्ह २ बजेसम्म उम्मेदवारी फिर्ता लिनुपर्नेछ ।

शीर्ष बैठकमा एमालेबाट अध्यक्ष ओली, बरिष्ठ नेता माधव नेपाल र कार्यदल संयोजक सुवास नेम्वाङ सहभागी थिए भने माओवादीबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ र बादल सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्