मुलुकमा अराजकता फैलाउने शक्ति सक्रिय : प्रचण्ड


काठमाडौं, १५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा अशान्ति र अराजकता फैलाउने शक्ति सक्रिय रहेको बताएका छन्।

प्रेस सेन्टरको १४ औं स्थापना दिवसको सन्र्दभमा महिला विभागले सोमबार काठमाण्डौमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले मुलुक आर्थिक विकासतिर नभई अराजकताको भूमरिमा परिरहोस् भन्ने चाहाना राख्ने शक्ति अझै पनि सक्रिय रहेको आरोप लगाएका हुन्।

संघीय लोकतान्त्रिक गणतन्त्र तथा समावेशी समानुपातिक प्रतिनिधित्व मन नपराउने मान्छेहरु मुलुकमा राजनीतिक अस्थिरता कामयै रहोस् भन्ने कामनाका साथ सक्रिय रहेको उनको भनाइ थियो।

त्यही शक्ति विरुद्ध एकजुट भई मुलुकलाई अस्थिरताको भुमरिबाट बाहिर ल्याई विकास र सम्वृद्धिको बाटोमा अघि बढाउन कम्युनिष्ट एकता, बामगठबन्धन र साझा उम्मेदवारका साथ प्रदेश र संघको निर्वाचनमा लागेको उनले दाबी गरे।

अध्यक्ष दाहालले मुलुकलाई विकास र आर्थिक सम्वृद्धितर्फ अघि बढाउने आफूहरुको निष्कर्ष र पहललाई जनताले निकै उत्साहका साथ अनुमोदन गराएकाले अब सापेक्षिक रुपमा मुलुक राजनीतिक स्थायित्व र सुशासनतर्फ अघि बढ्ने बताए।

यद्यपि त्यसका लागि जनमत श्रृजना गर्नु जरुरी भएको भन्दै उनले जनमत निर्माण गर्ने विषयमा पत्रकारिताको भुमिका महत्वपूर्ण हुने बताए।
कार्यक्रममा तात्कालीन जनयुद्धको समयमा पत्रकारिता गरेका महिलालाई सम्मान गरिएको थियो।