१५ माघ, काठमाण्डौ । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको छ । शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाँको स्रोत नखुलेको दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
कर फर्छ्योट आयोगमार्फत अर्बौं रुपैयाँको कर मिनाहा दिएको अभियोगमा दायर मुद्दा विचाराधीन रहेकै अवस्थामा शर्माविरुद्ध अख्तियारले अर्को मुद्दा दायर गरेको हो । झण्डै चार महिना लामो अनुसन्धानपछि अख्तियारले मुद्दा हालेको हो । सरकारी सेवा सुरु गरेपछि २०७३ मंसिर मशान्तसम्म शर्माको ३ करोड ६३ लाख ७२ हजार ९६१ रुपैयाँ मात्र वैध आर्जन देखिएको अख्तियारको दाबी छ ।
तर शर्माले विभिन्न शीर्षकमा ७ करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ खर्च देखिएकाले बाँकी चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाँको स्रोत नखुलेको अख्तियारले दाबी गरेको छ ।
अख्तियारले विज्ञप्तिमा भनेको छ ‘निजले जाँच अवधिमा ३ करोड ६३ लाख ७२ हजार ९६१ रुपैयाँ आयआर्जन गरेको देखियो भने सोही अवधिमा चल अचल सम्पत्ति सिर्जना एवं शेयर लगानी लगायतका शीर्षकहरुमा समेत गरी ७ करोड ९३ लाख २७ हजजार ८५ रुपैयाँ खर्च गरेको देखिंदा वैध आय ३ करोड ६३ लाख ७२ हजार ९६१ रुपैयाँको तुलनामा ४ करोड २९ लाख ५४ हजार १२४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएबाट निजको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आयो ।’
अख्तियारले शर्माले आर्जन गरेको केही रकम श्रीमती कल्पना उप्रेती शर्माको नाममा पनि राखेको देखिएकाले ती सम्पत्तिहरू जफत गर्ने प्रयोजनको लागि कल्पना उप्रेती शर्मालाई पनि प्रतिवादी बनाएर आरोपपत्र दायर गरेको छ ।
उक्त मुद्दामा उनीसहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्धको १० अर्ब २ करोड रुपैयाँ बिगोको मुद्दा हाल अदालतमा विचाराधीन छ । कर फर्छ्योटको बाँकी फाइलमाथिको अनुसन्धान अझै सकिएको छैन ।
प्रतिक्रिया