वृद्धभत्ता पाउने उमेर घटाएर ६५ वर्ष बनाउनु गलत : महत


माघ १६, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले वृद्धभत्ता पाउने उमेर घटाएर ६५ वर्ष बनाउनु गलत भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता महतले प्रधानमन्त्रीले निर्णय गर्दैमा कार्यान्वयन हुन नसक्ने बताए । निर्णय गर्नुअघि बजेटको व्यवस्था गर्नुपर्नेमा हचुवाको भरमा निर्णय गरिएको उनको ठोकुवा छ ।

“अर्थमन्त्रालयलाई यसबारे जानकारी पनि छैन रे । त्यसैले जुनसुकै गम्भीर निर्णय गर्दा प्रक्रिया पूरा गर्नुपर्छ । हल्ला गरेर मात्रै निर्णय लागु हुँदैन ।” महतले भने ।

देशलाई बलियो र समृद्धशाली बनाउने निर्णय गर्नुपर्ने बेलामा बाँडफाँट, उपभोग र वितरणमुखी निर्णय गरिएको पूर्व अर्थमन्त्रीसमेत रहेका महतको आरोप छ ।

विगतदेखि नै यस्तै प्रवृत्ति मौलाउँदै गएको भन्दै महतले अहिलेको सरकारले पनि प्रतिस्पर्धाका लागि वेथितीको स्थिती सृजना गर्ने खालका निर्णय गरेको बताए ।