Logo

‘सँगै मिलेर काम गरौं’



काठमाडौं १९ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले वाम विजयका लागि बधाई दिँदै आगामी सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर बिहीबार काठमाडौं ओर्लेकी उनले एमाले अध्यक्ष केपी ओलीलाई भेट्दै यस्तो बताएकी हुन् । ओलीसँग साँझ झन्डै एक घण्टाको एक्लाएक्लै भेटका क्रममा सहकार्य प्रस्ताव गरेकी उनले लगत्तै एमाले नेताहरूसँगको डिनरमा उही आग्रह दोहोर्‍याइन।

‘नेपालमा संविधान निर्माणपछि सम्पन्न तीनवटा निर्वाचन परिणामले एमालेसहितको गठबन्धनलाई बहुमत दिएका छन्,’ दुईदिने नेपाल भ्रमणमा आएकी विदेशमन्त्री स्वराजलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपार्इंहरुलाई हाम्रो बधाई छ । अब बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न भारत सरकार तयार छ ।’ एमाले सचिव प्रदिप ज्ञवालीले रात्रि भोजसहितको भेटमा स्वराजलाई उद्धृत गर्दै भने, ‘म एउटा निश्चित एजेन्डा लिएर आएकी होइन, संविधान जारी भएपछि शान्तिपूर्ण रुपमा सम्पन्न निर्वाचन भएको खुशीयाली तपाईहरूसँग आदान प्रदान गर्न यहाँ आएकी हुँ ।’

यो पनि पढ्नोस : भारतीय विदेशमन्त्री स्वराजसँगको वार्तामा ओलीले के भने ?
एमालेले पाएको बहुमतले नेपालमा स्थायी सरकार गठन हुनेमा उनले खुशी व्यक्त गर्दै दुई देसबीचको सम्बन्ध सुधारका लागि भारत तयार रहेको भन्दै अब मिलेर जानुपर्ने बताइन् । स्वराजले संविधान कार्यान्वयनको खुसियाली साट्दै गर्दासम्म भारतले हालसम्म संविधानको औपचारिक स्वागत भने गरेको छैन । एमाले अध्यक्ष ओलीले आफूहरू भारतसँग सुदृढ सम्बन्धका पक्षमा रहेको जवाफ दिए । उनले अब बन्ने सरकारले भर्खरैको चुनावी नतीजासँग कसैले पनि सशंकित हुन नहुने बताउँदै दुई देशबीचका साझा एजेन्डामा भारतसँग सहकार्य गर्न आफू इच्छुक रहेको बताए ।

‘नेपाल भारतसँगको सम्बन्ध सुदृढ बनाउन चाहन्छ । एमालेले सरकारको नेतृत्व लिएपछि सोही अनुसारको सम्बन्ध बिस्तार गर्छ,’ ओलीको भनाई उद्धृत गर्दै एमाले नेता सुवास नेम्वाङले भने, ‘त्यसमा सशंकित नहुनुहोस् ।’ ओलीले विकास पूर्वाधार, पर्यटन आदिमा दुईपक्षीय सहकार्य गर्न सकिने सन्देश दिएका थिए । स्वराजसँगको संयुक्त भेटमा पार्टी अध्यक्ष ओलीसहित नेम्वाङ, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव ज्ञवाली, नेताहरू राजन भट्टराई, विष्णु रिमाल, राजेश बज्राचार्य तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा.युवराज खतिवडा सहभागी थिए ।

स्वराजको सम्मानमा आयोजित रात्रीभोजमा एमालेका नौजना र स्वराज भ्रमण दलका १० सदस्य मात्र उपस्थित थिए । ओलीलाई मोदीको निम्तो वाम गठबन्धनले चुनावमा बहुमत पाए लगत्तै ओलीलाई भारतका प्रधानमन्त्री मोदीले भारत भ्रमणको निम्ता दिएका छन् । मोदीको तर्फबाट स्वराजले ओलीलाई यस्तो निम्ता दिएको ज्ञवालीले जानकारी दिए । बक्स ‘ओलीसँग सम्बन्ध सुधार्नुस्’ राजपा नेताहरुलाई भेट्दै स्वराजले ओलीसँगको सम्बन्ध सुधार्न सुझाव दिइन् । आफूलाई भेट गर्न सोल्टी होटल आएका मधेसकेन्द्रित दलका नेतालाई स्वराजले यस्तो सुझाव दिएकी हुन् ।

संविधान निर्माण प्रक्रियायता ओली र यी क्षेत्रीय नेताबीचको सम्बन्ध तिक्ततामा परिणत भएको थियो । झन्डै पाँच महिना लामो नाकाबन्दीका बेला प्रधानमन्त्री रहेका ओलीसँग भारतसँगको सम्बन्ध पनि उति राम्रो रहेन । दुई देसबीच चिसिएको सम्बन्धलाई सुधार्ने उद्देश्यमा रहेका प्रधानमन्त्री मोदीका विशेष दूत स्वराज दुई नेताबीच सम्बन्ध सुधारका लागि सेतुको भूमिकामा नेपाल आएको एक मधेसकेन्द्रित नेताले भने । स्वराजले पटकपटक प्रजातान्त्रिक प्रक्रियाबाट बन्ने जुनसुकै सरकारसँग मिलेर काम गर्न भारत तयार रहेको स्पष्ट पार्दै अब मधेसी दलले पनि ‘बिगतको तिता मिठा कुरा’ छाडेर भावी सरकारसँग सहकार्य गर्न आग्रह गरिन् ।

सम्बन्धित् खबर : चुनावी परिणाम राम्रो ल्याएकोमा राजपालाई स्वराजको बधाई

‘तपाईहरू एक अर्काबीच तिक्तता छाड्दै देश विकासमा लाग्नुहोस्,’ स्वराजको भनाई उद्धृत गर्दै राजपा अध्यक्ष महन्थ ठाकुरले भने, ‘प्रदेश २ लगायत मधेसका माग सम्बोधन गराउन हामी पनि लाग्नेछौं ।’ राजपाले संविधान संशोधनको पुरानो मागका अतिरिक्त पर्यटन, कृषि, सडक विकासमा सहयोगको माग राखेको थियो । राजपा नेता राजकशिोर यादवले स्वराज नितान्त मैत्री सन्देश बोकेर नेपाल आएको आफूले पाएको वताए । ‘म नितान्त तपाईहरूलाई शुभकामना दिन आएको हुँ ।

यतिवेला तपाईहरुले चुनाव जित्नुभयो, राम्रो गर्नुभयो । तपाईहरु मिलेकोमा हामीलाई धेरै खुसी लागेको छ । चुनावी परिणाम पनि तपाईहरुकै पक्षमा आयो, त्यसले झन खुसी बनाएको छ’, स्वराजलाई उदधृत गदै यादवले भने, ‘तपाईहरु मिलेर दुई नम्वर प्रदेशमा सरकार वनाउनुहोस, केन्द्रमा हामी जुनकुनै सरकार भएपनि नयाँ सरकारसँग मलिेर काम गर्न तयार छौं ।’

प्रदेश नम्वर २ मा वन्ने नयाँ प्रदेश सरकारसाग झन मिलेर काम गर्न आफूहरू लालायित भएको स्वराजले वताएकी थिइन् । मधेसी नेताहरुले भने मधेसमा आफुहरूले मिलेरै सरकार वनाउने स्वराजलाई अवगत गराउँदै वाढीपिडत, रोडव्रिज जस्ता समस्या समाधानमा सहयोग गर्न आग्रह गरेका थिए ।

स्वराजको दुर्इदिने दौड

बिहीबार ४: ३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

त्यसपछि सोल्टी होटल

७ बजे : एमाले अध्यक्ष केपी ओलीसँग वन टु वन वार्ता

८ बजे : ओलीसहित अन्य एमाले नेतासँग सामूहिक संवाद

९ वजे : मधेसी नेतासँग छलफल

शुक्रबार बिहान ९ बजे सोल्टी होटल मा : पुष्पकमल दाहालसँग ब्रेकफास्ट संवाद

११:३० बजे : राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता

१२:३० बजे : बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूसँग लन्च मिटिङ

शुकवार साझ : दिल्ली फिर्ती
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्